कावासोती — नवलपुरको हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५५ करोड १० लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७ औं गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष पूर्णसिंह राना मगरले आगामी वर्षको बजेट प्रस्तुत गर्दै समावेशी, सन्तुलित र उत्पादनमुखी आर्थिक ढाँचामार्फत “सुन्दर, सुखी र उद्यमी हुप्सेकोट” अभियानलाई सार्थकता दिने लक्ष्य लिएको जानकारी दिए।
प्रस्तुत बजेटमा सामाजिक विकासलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। सामाजिक क्षेत्रमा २६ करोड ८ लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूर्वाधार विकासमा १८ करोड २३ लाख, आर्थिक विकासमा २ करोड ८४ लाख ६५ हजार, प्रशासन तथा सुशासनमा ७ करोड ७० लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनमा २४ लाख ९० हजार छुट्याइएको छ।
गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले आगामी वर्षको बजेटलाई नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर तयार गरिएको बताइन्। उनले भनिन्, “हामीले बजेट निर्माण गर्दा हरेक समुदाय, वर्ग र भौगोलिक क्षेत्रलाई समेट्ने प्रयास गरेका छौं। योजना निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक प्रक्रियालाई प्राथमिकता दिइनेछ।” अध्यक्ष पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई दीर्घकालीन विकासको मेरुदण्डका रूपमा लिएर अघि बढ्ने स्पष्ट संकेत दिइन्।
बजेटमा ‘निरोगी हुप्सेकोट’ अभियान अन्तर्गत जनस्वास्थ्य सेवा विस्तार, विशेषज्ञ सेवा, बालमैत्री कार्यक्रम तथा प्रविधिमैत्री शिक्षाको प्रवर्द्धनको लागि विशेष विनियोजन गरिएको छ। न्यून दरबन्दी भएका विद्यालयमा स्वयंसेवक शिक्षकहरूलाई थप भत्ता उपलब्ध गराउने, आधुनिक प्रविधिमा आधारित शिक्षा प्रणाली विकास गर्ने योजना समेत बजेटमा समावेश छ।
कृषि क्षेत्रमा यान्त्रीकरण, अर्गानिक उत्पादन, बीउ–मल भण्डारण, बजार प्रवर्द्धन, व्यवसायिक पशुपालन र पशु स्वास्थ्य सेवा सुधारका लागि पनि बजेट छुट्याइएको छ। धौवादी क्षेत्रलाई हिल स्टेसनका रूपमा विकास गर्न, हुप्सेकोट चक्रपथ र अन्य सडक स्तरोन्नति गर्न ठूला आयोजना अगाडि बढाइने जानकारी उपाध्यक्ष रानाले दिए।
प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बजेट कार्यान्वयनमा दक्ष र उत्तरदायी प्रशासनिक संयन्त्र तयार गरिएको उल्लेख गरे। उनले भने, “स्रोतको अधिकतम उपयोग र परिणाममुखी कार्यान्वयन हामीको प्राथमिकता हो। बजेट पारदर्शी ढंगले कार्यान्वयन गर्ने जिम्मेवारी प्रशासनले काधमा लिएको छ।”
पराजुलीका अनुसार बजेटको मुख्य स्रोतमा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त तथा विशेष अनुदान, आन्तरिक राजस्व र गत वर्षको मौज्दात रहेको छ। उनले योजना कार्यान्वयनमा अनुगमन र मूल्याङ्कनलाई थप सशक्त बनाउँदै नागरिकको विश्वास जित्ने गरी काम हुने विश्वास व्यक्त गरे।
यसरी प्रस्तुत बजेटले हुप्सेकोट गाउँपालिकाको समावेशी, उत्तरदायी र समुन्नत भविष्यतर्फको कदमलाई प्रतिबिम्बित गरेको छ। नागरिकमैत्री सेवा, उत्पादनमुखी सोच र स्थानीय स्रोतको अधिकतम परिचालनमार्फत गाउँपालिकाले समृद्धिको दिशामा सार्थक यात्रा सुरु गरेको देखिन्छ।



उज्यालो खबर




