×

चितवन- कालिका यामाहा कोषको सामाजिक उत्तरदायित्वअन्तर्गत दिव्यज्योति आधारभूत विद्यालय, हर्नरी, चितवनमा अध्ययनरत १३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।शैक्षिक सत्रको प्रारम्भसँगै विद्यार्थीहरूलाई स्कुल पोसाक, झोला, जुत्ता, मोजा, कापी, कलम, पेन्सिल, ज्यामिति बक्स, क्यालकुलेटरलगायत अध्ययनमा आवश्यक सम्पूर्ण सामग्री हस्तान्तरण गरिएको हो।

उक्त कार्यक्रम कालिका मोटरसाइकल पार्टस, खैरहनी–८, चितवनले स्थापना गरेको कालिका यामाहा कोषमार्फत सम्पन्न गरिएको हो। २०७२ सालदेखि सञ्चालनमा रहेको कोषले पूर्वी चितवन क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका ४१ जना गरिब, पिछडिएका र जेहेन्दार विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै आएको छ।कालिका मोटरसाइकल पार्टसबाट बिक्री हुने प्रत्येक मोटरसाइकल वा स्कुटरबाट प्रतिगाडी रु ५०० कटौती गरी उक्त कोषमा जम्मा गरिँदै आएको छ।

कार्यक्रममा बोल्दै कालिका मोटरसाइकल पार्टसका अध्यक्ष तथा कोषका संस्थापक उत्तम अधिकारीले भने,“शिक्षा नै समृद्धिको आधार हो भन्ने सोचका साथ हामीले यो अभियान सुरु गरेका हौं। व्यापार मात्र होइन, समाजप्रतिको दायित्व पनि उत्तिकै महत्त्वपूर्ण हो भन्ने सन्देश दिन चाहेका हौं। आगामी दिनहरूमा अझ बढी विद्यार्थीलाई समेट्ने हाम्रो लक्ष्य छ।”

विद्यालय प्रशासन तथा स्थानीय अभिभावकहरूले कालिका यामाहा कोषको यो सामाजिक कदमप्रति आभार व्यक्त गरेका छन् र यस्तो कार्यले विद्यार्थीहरूलाई अध्ययनमा प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया