×

चितवन – चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने कसरा–वनकट्टा सडक खण्ड अत्यावश्यक यात्राका लागि अब रातिको समयमा समेत प्रयोग गर्न सकिने भएको छ।

यसअघि राति १० बजेदेखि बिहान ६ बजेसम्म सुरक्षा कारणले बन्द गरिँदै आएको उक्त सडक खण्डलाई संघीय वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीको निर्देशनमा अत्यावश्यक प्रयोजनका लागि चौबिसै घण्टा खुला राख्न सकिने व्यवस्था गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यात्रु तथा सरोकारवालाहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो। निकुञ्जले सम्बन्धित पक्षहरूसँग राय सुझाव लिई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्राचार गरी आवश्यक प्रक्रिया अगाडि बढाएको थियो।

विभागले आकस्मिक र अत्यावश्यक अवस्थामा यात्रु बोक्ने चारपाङ्ग्रे सवारी साधनलाई रातको समयमा समेत यात्रा गर्न दिने सहमति दिएको छ। यद्यपि, यस क्रममा यात्रु तथा चालक आफैँले जोखिमको जिम्मेवारी वहन गर्नुपर्ने जनाइएको छ।

निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तद्वारा हस्ताक्षरित सूचनामा मानव तथा वन्यजन्तुको सुरक्षालाई प्राथमिकतामा राखी नियमावलीअनुसार सुरक्षा व्यवस्थासहित यात्रा अनुमत गरिने उल्लेख गरिएको छ। साथै, यस प्रयोजनका लागि यात्रुले संलग्न फारम भरी सहमति जनाउनुपर्ने व्यवस्था पनि गरिएको छ।

यस निर्णयबाट विशेष गरी माडी क्षेत्रका बासिन्दा, आकस्मिक स्वास्थ्य सेवाको आवश्यकता परेका नागरिक तथा रातको समयमा अत्यावश्यक आवतजावत गर्नुपर्ने यात्रुहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।निकुञ्ज प्रशासनले भने यात्रा स्वीकृति दिँदा चितवन राष्ट्रिय निकुञ्ज नियमावली, २०३० को नियम १९ को परिपालना गरिने स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया