नवलपुर — गैँडाकोट नगरपालिकामा सोमबार सम्पन्न ‘मेयरसँग बालबालिका’ कार्यक्रमले नगरका बालबालिकाको आवाज र सरोकारलाई प्रत्यक्ष रूपमा उठान गरेको छ। नगर बाल सञ्जालको आयोजनामा तथा गैँडाकोट नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा बालबालिकाहरूले नगर प्रमुखसँग खुलेर संवाद गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि मेयर मदनभक्त अधिकारी, विशिष्ट अतिथि उपमेयर शान्ति कोइराला तथा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा बालबालिकाहरूले तपाईंका तर्फबाट उठ्ने शिक्षा, स्वास्थ्य, बालअधिकार, सुरक्षा, पहुँच र समावेशीताका विषयमा एकपछि अर्को प्रश्न राखेका थिए। माध्यमिक तहसम्म निशुल्क शिक्षा कहिलेदेखि लागू हुन्छ, बालविवाह नियन्त्रणमा पालिकाले के गरिरहेको छ, एसईईमा नतिजा सुधार्न के उपाय अवलम्बन गरिएको छ, निजी विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड किन दिइँदैन, र विद्यालय जाँदा प्रयोग गर्नुपर्ने राजमार्गमा जेब्रा क्रसिङ कहिले बनाइन्छ भन्नेजस्ता सरोकारका दर्जनौं प्रश्न सोधिएका थिए।
मेयर अधिकारीले बालबालिकाको जिज्ञासाको समुचित जवाफ दिनुहुनका साथै नगरपालिका बालमैत्री बनाउन बालबालिकासँगको सहकार्य अझ सशक्त हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, संरचना र सामाजिक चेतनाका विषयलाई प्राथमिकतामा राखेर योजना अघि बढाइरहेको जानकारी दिनुभयो।
उपमेयर शान्ति कोइरालाले तपाईंका बालबालिकालाई समावेश गर्दै नगरको भविष्य निर्माणमा उनीहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले कार्यक्रमजस्तो प्रत्यक्ष संवादले प्रशासनलाई अझ जवाफदेही र पारदर्शी बनाउने धारणा राख्नुभयो।नगर बाल सञ्जालका अध्यक्ष संसार सापकोटाले यस्ता कार्यक्रमहरूले बालबालिकामा आत्मविश्वास बढाउनुका साथै नीतिनिर्माणमा उनीहरूको सशक्त सहभागिता सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका क्रममा उल्लेखनीय प्रश्नकर्ता आस्था आचार्य र अश्विन पनेरु तथा उत्कृष्ट प्रश्नकर्ता भिमसागर परियार र गोकुल ढुङ्गानालाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो।





उज्यालो खबर




