नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — निरन्तर वर्षाका कारण बिनयी त्रिवेणी गाउँपालिका क्षेत्रभित्रको पूर्व–पश्चिम राजमार्ग र त्यसको विकल्पका रूपमा प्रयोग भइरहेको भित्री सडकसमेत अबरुद्ध भएपछि सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ।
असार ६ गतेदेखि बिनयी खोलामा निर्माण गरिएको डाइभर्सन पानीको बहावले बगाएपछि साना तथा मध्यम (१२ चक्के सम्म) सवारीसाधनहरूलाई होल्डमा राखी वैकल्पिक सडक — होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमार्फत सञ्चालन गरिएको थियो।
आज बिहान ७:३० बजे बिनयी त्रिवेणी गाउँपालिका–३ स्थित खरङ्गे खोलामा पानीको बहाव अत्यधिक बढेपछि उक्त वैकल्पिक भित्री सडकसमेत प्रयोग अयोग्य बनेको हो। बढ्दो बहावका कारण कुनै पनि सवारी साधन आवतजावत गर्न नसक्ने अवस्था उत्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ।
प्रहरीका अनुसार होल्डमा रहेका सवारी साधनहरूलाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको छ। परिस्थिति सामान्य नहुञ्जेलसम्म सडक सञ्चालनमा ल्याउन नसकिने जनाइएको छ। स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित स्थानमै बस्न आग्रह गरिएको छ।



उज्यालो खबर




