चितवन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१७, पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा बारबिक्यु गर्ने क्रममा आगो सल्किँदा जलेकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
कावासोती नगरपालिका–८ निवासी प्रदीपकुमार भट्टराई परिवारसहित रमाइलो गर्न गएको रिसोर्टमा गत शुक्रबार राति आगो सल्किएको हो। आगोबाट घाइते भएकी ६ वर्षीया अन्नी भट्टराईको उपचारका क्रममा बिहीबार राति कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख एसपी यादव ढकालले जानकारी दिए।
प्रहरीका अनुसार घटनामा अन्नीकी आमा ४१ वर्षीया मीना पौडेल, उनका पिता ४४ वर्षीय प्रदीपकुमार भट्टराई, प्रदीपले सञ्चालन गरेको ‘द नेक्स्ट कन्सल्टेन्सी’मा कार्यरत कर्मचारी २६ वर्षीय असिम राना र २४ वर्षीय अनुप गुरुङ घाइते भएका छन्।
रिसोर्टमा रमाइलो गरिरहेका बेला बारबिक्युमा पेट्रोल हालिँदा अचानक आगो सल्किएको पीडित प्रदीपले बताएका छन्। उनीका अनुसार बारबिक्युमा कोइला राख्दै गर्दा रिसोर्टका एक कर्मचारीले पेट्रोल खन्याउँदा आगो दन्किएको थियो।
प्रदीप स्थानीय मध्यविन्दु क्याम्पसमा प्राध्यापन पनि गर्छन्। घटनाका बेला उनका थप दुई जना साथी र एक छोरा भने नजिक नहुनुका कारण जोगिएका थिए।
रिसोर्टका म्यानेजर सागर पराजुलीले शुक्रबार राति साढे ९ बजेतिर घटना भएको पुष्टि गरे। ‘उहाँहरू आफैंले दिउँसोदेखि बारबिक्यु गर्ने भनेर तयारी गर्नुभएको थियो, हाम्रो स्टाफले कोइला थपिदिँदा अचानक आगो बल्यो,’ उनले भने, ‘हामी सर्पोट मात्रै गरिरहेका थियौं।’
घटनापछि घाइतेलाई तत्काल चितवन मेडिकल कलेजमा लगिएको र त्यहाँबाट थप उपचारका लागि काठमाडौँ लगिएको उनले जानकारी दिए।
घटनाको अनुसन्धान जारी रहेको र पेट्रोल हालिएको विषयमा पुष्टि हुन बाँकी रहेको प्रहरी प्रमुख ढकालले बताए। ‘हामीले होटलका कर्मचारीसँग बयान लिएका छौं, तर घाइतेहरू उपचाररत रहेकाले उनीहरूबाट विस्तृत बुझ्न केही समय लाग्छ,’ उनले भने।



उज्यालो खबर




