×

गैंडाकोट –  गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सामाजिक विकासका विभिन्न क्षेत्रहरूमा विशेष प्राथमिकता दिएको छ। नगर उपप्रमुख शान्ति कोइरालाले नगरसभामा बजेट प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, बाल अधिकार, जेष्ठ नागरिक तथा खेलकुद क्षेत्रलाई समेट्दै समावेशी र संवेदनशील समाज निर्माणतर्फ बजेट निर्देशित गरिएको बताउनुभयो।

स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउँदै‘
नगरपालिकाले नगर अस्पताल र आधारभूत अस्पतालमा सेवा सहज बनाउन आवश्यक बजेट विनियोजन गरेको छ। भरतपुर आँखा अस्पतालसँग समन्वय गरी नगर अस्पतालमा आँखा उपचार केन्द्रलाई निरन्तरता दिन आवश्यक खर्च छुट्याइएको छ।

साथै, नगरवासीका लागि अत्यावश्यक ९८ प्रकारका औषधिहरू निःशुल्क वितरण गर्न रु ४० लाख बजेट विनियोजन गरिएको छ। जेष्ठ नागरिकसँग संवाद र सम्मान सँगै “मेयरसँग जेष्ठ नागरिक कार्यक्रम” सञ्चालन गरिनेछ, जसका लागि पनि उपयुक्त बजेट छुट्याइएको छ।

शिक्षा क्षेत्रमा ऐतिहासिक निर्णय
सामुदायिक विद्यालयमा आधारभूत तहसम्म अभिभावकबाट कुनै पनि अनिवार्य शुल्क लिन निषेध गरिएको छ। कक्षा ५ सम्मको निःशुल्क शिक्षालाई अब आधारभूत तहसम्म विस्तार गरिँदैछ, जसका लागि शिक्षा क्षेत्रमा मात्र रु ६ करोड ५ लाख विनियोजन गरिएको छ।

संघीय सरकारसँग समन्वय गर्दै शिक्षक बैंकू अवधारणा कार्यान्वयन गरिने र त्यसका लागि आवश्यक बजेट समेत छुट्याइएको छ। साथै, मातृविहीन टुहुरा विद्यार्थीका लागि मेयर छात्रवृत्ति कार्यक्रमू सञ्चालन गरिनेछ।

अघिल्ला कार्यक्रमहरूलाई निरन्तरता
महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने मासिक प्रोत्साहन भत्ता, विद्यालय कर्मचारी तथा बाल विकास केन्द्रका सहजकर्तालाई दिइने प्रोत्साहन सहयोग लगायतका कार्यक्रमहरूलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। प्रधानाध्यापक प्रोत्साहन कार्यक्रम पनि यथावत् राखिएको छ।

जेष्ठ नागरिक र पोषण सुधारतर्फ पनि ध्यान
जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रमसहित भान्सा सुधार अभियान सञ्चालन गरिनेछ, जसले वृद्धावस्थामा स्वास्थ्य र पोषणको स्तर सुधार गर्ने विश्वास गरिएको छ।

खेलकुदलाई व्यवस्थित र व्यवसायिक बनाउने योजना
नगरभित्र सञ्चालनमा रहेका सबै खेल गतिविधिलाई व्यवसायिक बनाउन नगर खेलकुद समितिमार्फत व्यवस्थापन गरिनेछ। खेलकुदको समग्र व्यवस्थापनका लागि नगरपालिकाले रु ४५ लाख बजेट छुट्याएको छ।

नगरपालिकाको सामाजिक प्रतिबद्धता प्रस्ट
यस वर्षको बजेटले गैंडाकोट नगरपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, बालबालिका र जेष्ठ नागरिकका हकहितप्रति देखाएको संवेदनशीलता झल्किन्छ। सेवा प्रवाहलाई गुणस्तरीय र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धताका साथ सामाजिक विकासलाई संस्थागत गरिने विश्वास नगरले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया