×

गैंडाकोट-  गैंडाकोट नगरपालिकाले असार ६ गते शुक्रबारको दिन सत्रौं नगरसभाको अधिवेशन आह्वान गरेको छ। सो अधिवेशनमा नगरपालिकाका जनप्रतिनिधि तथा सम्बन्धित कर्मचारीहरू सहभागी हुनुपर्ने भएकाले सो दिन नगरपालिकाका नियमित सेवाहरूमा अस्थायी रोक लाग्ने भएको छ।

नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “नगरसभा सञ्चालनका क्रममा कार्यालयका सम्पूर्ण जनशक्ति सभामा सहभागी हुने हुनाले, नगर कार्यालय, सबै वडा कार्यालयहरू तथा मातहत रहेका सम्पूर्ण स्वास्थ्य संस्था तथा सेवा केन्द्रहरूबाट अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा प्रभावित रहने व्यहोरा जानकारी गराइन्छ।”

सूचनामार्फत नगरपालिकाले भोलिआवश्यक कामका लागि कार्यालयमा उपस्थित हुन आउने सेवाग्राहीहरूलाई जानकारीपूर्वक अर्को दिन सेवा लिन अनुरोध गरेको छ। अत्यावश्यक स्वास्थ्य सेवा भने सञ्चालनमा रहने जनाइएको छ।

गैंडाकोट नगरपालिका गण्डकी प्रदेशअन्तर्गतको एउटा महत्वपूर्ण नगरपालिका हो, जहाँ शिक्षादेखि स्वास्थ्य, पूर्वाधार, कृषिका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। नगरसभा प्रत्येक वर्षको नियमित प्रक्रिया हो, तर यसले नगरको समग्र कार्यदिशा निर्धारण गर्ने भएकाले नगरवासीहरूको समेत चासो रहने गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया