×

गैँडाकोट- नवलपुरको गैँडाकोट–१ मा अवस्थित सरस्वती निकेतन ईङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल रक्षा मन्त्रालय अन्तर्गतको श्री राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजन कार्यक्रममा छनौट भएको छ । असार दोस्रो सातादेखि नेपाली सेनाको टोलीले विद्यालयमै आएर कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबाट छनौट प्रक्रिया सुरु गर्नेछ ।

छनौट हुने ३० जना विद्यार्थीहरूले यो कार्यक्रममा सहभागी हुने अवसर पाउने छन् । कार्यक्रम विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि एउटा विशेष अवसरका रूपमा लिइएको छ ।कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई नेपाली सेनाको प्रत्यक्ष निरीक्षणमा अनुशासन, नेतृत्व, खेलकुद, सांस्कृतिक गतिविधि तथा सामाजिक उत्तरदायित्वबारे प्रशिक्षण दिइने बताइएको छ । साथै, पौडी र फायरिङ तालिम समेत समावेश गरिने भएको छ ।

तालिम अवधिभर आवश्यक सम्पूर्ण सामग्री नेपाल सरकारले निःशुल्क रूपमा उपलब्ध गराउनेछ भने, तालिमपछि नेपाली सेनाबाट प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्राचार्य भरतबाबु कंडेलले बताउनुभयो । उहाँका अनुसार यसबाहेक, सार्क राष्ट्रहरूको भ्रमणको अवसर र भविष्यमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा सेवाका लागि विशेष प्राथमिकता पनि प्रदान गरिनेछ ।

प्राचार्य कंडेलले यो उपलब्धिलाई विद्यालयका लागि गर्वको विषय भएको बताउँदै भन्नुभयो, “हाम्रो विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र समग्र विकासप्रतिको प्रतिबद्धताको फलस्वरूप यो अवसर प्राप्त भएको हो । विद्यार्थीहरूले यस कार्यक्रमबाट अनुशासन, नेतृत्व र राष्ट्रसेवाको भावना सिक्नेछन्, जुन उनीहरूको जीवनभर काम लाग्नेछ । ” उहाँले विद्यार्थीहरूलाई यो अवसरको भरपूर उपयोग गर्न र अभिभावकहरूलाई पूर्ण सहयोग गर्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया