काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको प्रमुखबाट ६ महिनाको लागि निलम्बनमा परेका राजु पाण्डे निलम्बन पत्र पाएपछि कार्यालयबाट बाहिरिएका छन् ।आज नियमित समयमा कार्यालय पुगेका हुन् दिउँसो निलम्बनमा परेपछि निस्किएका हुन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाको लागि निलम्बन गरेका छन् ।
गत चैत २१ मा भएको घटना (प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा अवरोध) का विषयमा छानविन गर्न जाँचबुझ समिति समेत बनाइएको छ । पाण्डेले आफूमाथि गरिएको कारवाहीबारे खासै प्रतिक्रिया दिन चाहेनन् ।आफूले कार्यलयमै हुँदा निलम्बित भएको खबर पाएको र लगत्तै कार्यालयबाट निस्किएको उनले बताए ।
पाण्डेले भने, ‘मैले निलम्बनको चिठी पाएको छु । अब के गर्ने कसो गर्ने भन्नेबारे सोचेकै छैन ।’ आफ्नो आमा अहिले सिकिस्त बिरामी भएको पनि उनले सुनाए ।‘मेरी आमा सिकिस्त विरामी हुुनुहुन्छ तीन–चार दिनदेखि दिनभरि ड्युटी र रातभरि अस्पतालमा आमा कुरिरहेको छु । यो कुरा सबैलाई थाहै थियो । अब ठिक छ । केही छैन,’ उनले भने ।
पाण्डे थप्छन्, ‘मैले जे गरेँ, सबैको सामु छर्लङ्ग नै छ । मेरो मूल्याङ्कन मैले गर्ने कुरा भएन । मेरो मूल्याङ्कन गर्ने जिम्मा तपाईंहरुलाई छोडिदिएँ मैले । मैले दिएको स्पष्टीकरण चित्त बुझदो भएन भन्ने छ । अब मेरो कुरा त्यही हो, चित्त नबुभ्न पाइयो ।’
आफूले यस विषयमा मेयर बालेन साहसँग कुनै सिकायत नगरेको पाण्डेको भनाइ छ ।
उनले भने, ‘मैले यो विषयमा कसैसँग कुरा गरेको छैन । मेयर साबलाई पनि केही भनेको छैन ।’
आफूले व्यक्तिगत रुपमा कुनै गल्ती नगरेको उनको भनाइ छ । कर्तव्य पालनको क्रममा आफ्नो काम इमान्दारपूर्वक निभाएको प्रतिक्रिया दिए । कर्तव्य पालनाको क्रममा भएका घटनाबारे थप टिप्पणी नगर्ने र सबै जनतालाई छाडिदिने उनले बताए ।
पाण्डेले महानगरमा नगरप्रहरी प्रमुखको रुपमा झण्डै साढे ३ वर्ष काम गरे । मेयर बालेन साह निर्वाचित भएर आइपुगेपछि नगरप्रहरी बल प्रमुख मेयरले धनपति सापकोटाको जिम्मेवारी पाण्डेलाई दिएका दिए ।
२०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका पाण्डे २०७७ मा नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका थिए ।



उज्यालो खबर




