×

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल अध्यक्षलाई प्रश्न सोधेको निहुँमा एक पत्रकारले कुटाइ खाएका छन् । माओवादी निकट वाईसीएलको कार्यक्रममा उनीमाथि कुटपिट भएको हो ।

प्रज्ञा भवनमा आयोजित वाईसीएलको कार्यक्रममा रिपोर्टिङका लागि पुगेका थिए एनपीएल प्रेसका सञ्चालकसमेत रहेका पत्रकार सुरज सो कार्यक्रममा प्रचण्ड आउने क्रममा आफूले प्रश्न सोध्न खोजेको उनले बताए ।

‘उहाँ गाडीबाट झरेर हलभित्र पस्ने क्रममा मैले प्रश्न सोध्ने प्रयास गरेको थिएँ, तर प्रचण्डले फर्केर गाली गर्नुभयो’, उनले सुनाए, ‘यो प्रश्न सोध्ने टाइम हो रु भनेर प्रचण्डले गाली गरेरेलगत्ते वाइसीएलहरु ममाथि खनिए ।’

आफूलाई झ्यापझुप पारेर एउटा कोठाभित्र लगेर थुनेको सुरजको भनाइ छ ।

‘करिब २०-२५ जना तिघ्रे मुङ्ग्रे थिए, कोठाभित्र थुनेर मलाई कुटे’, उनी भन्छन्, ‘कसैले टाउकोमा मुक्का हाने, कसैले ढाडमा लात्ति हाने । मेरो मोबाइल पनि खोसे ।’

आफूले अहिले पनि मोबाइल फिर्ता नपाएको उनी बताउँछन् । प्रचण्डलाई प्रश्न सोध्ने प्रयास गर्दा दुई दिनभित्र दुईजना कुटिएका छन् । हिजो मात्रै नुवाकोटको एक विद्यालयको कार्यक्रममा प्रचण्डलाई प्रश्न सोध्न खोजेका एक राजावादी युवकमाथि माओवादी कार्यकर्ताले हातपात गरेका थिए ।

उनले आफू त्यहाँबाट फुत्केर स्कुटर पार्किङसम्म गएकोमा वाईसीएलका कार्यकर्ता पछ्याउँदै आएको बताए ।आफू स्कुटर लिएर नक्सालसम्म आएको र त्यहाँबाट एकजना साथीलाई सम्पर्क गरेर अस्पताल आएको सुरजको भनाइ छ । अहिले उनी केएसी अस्पतालको इमर्जेन्सीमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया