गैँडाकोट ।नवलपुरको गैँडाकोट नगरपालिका–१८ स्थित बसेनीमा निर्माण सम्पन्न भएको बसेनी लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन बुधबार सम्पन्न भएको छ । गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले आयोजनाको उद्घाटन गर्नुभयो ।
गण्डकी प्रदेश सरकारको ५८ लाख र गैँडाकोट नगरपालिकाको २७ लाख, गरी कुल ८५ लाख रुपैयाँको लागतमा सम्पन्न भएको आयोजनाबाट करिब १०० घरधुरी लाभान्वित हुने बताइएको छ।
मेयर अधिकारीले उद्घाटन समारोहमा बोल्दै भन्नुभयो, “यो आयोजना गैँडाकोट–१८ का बासिन्दाहरूको दीर्घकालीन प्यास मेटाउने महत्वपूर्ण परियोजना हो। अब स्थानीयवासीलाई शुद्ध र सुरक्षित खानेपानी प्राप्त हुने छ।” उपमेयर शान्ति कोइरालाले स्थानीय सरकारको प्राथमिकता जनताको आधारभूत आवश्यकताहरू पूरा गर्नु रहेको उल्लेख गर्दै भन्नुभयो, “खानेपानी र सरसफाइ क्षेत्रमा गरिएको पहलले जनताको जीवनस्तर उकास्नेछ।”
प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले आयोजना सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै भन्नुभयो, “यो आयोजना स्थानीय समुदायको सक्रिय सहभागिता र समर्पणको परिणाम हो।” वडा अध्यक्ष तिलबहादुर चितौरेले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासीहरू अब शुद्ध पानी पिउन पाउने हुँदा खुशी व्यक्त गर्दै भन्नुभयो, “यो आयोजना हाम्रो वडाको विकासमा एक महत्वपूर्ण कदम हो।”
स्थानीयवासीहरू पनि आयोजनाको उद्घाटनपछि अत्यन्त हर्षित देखिएका छन् । उनीहरूले अब शुद्ध पानीको पहुँच सहज हुने भन्दै नगरपालिका र वडा कार्यालयप्रति आभार व्यक्त गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १८ का लागि यो आयोजना आधारभूत सेवाको उपलब्धतामा एक महत्वपूर्ण उपलब्धि हो, जसले स्थानीयवासीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा उपमेयर शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, नेपाली कांग्रेसका नगर सभापति बद्री सापकोटा, वडा नं. १८ का अध्यक्ष तिलबहादुर चितौरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव रामू पौड्यालले गर्नुभएको थियो ।



उज्यालो खबर




