×

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार अहिले भारत भ्रमणको तयारीमा रहेको छ । मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा आगामी १६ गतेदेखि २२ गतेसम्म १० सदस्यीय टोली भारत जान लागेको हो । भारतीय विदेश मन्त्रालयको व्यवस्थापनमा मुख्यमन्त्रीसहितको टोली भारत जाने तयारीकाबीच मुख्यमन्त्री शाहले बिहीबार सर्वदलीय बैठक बोलाएका थिए ।

बिहान ११ बजे सर्वदलीय बैठकका आउन भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी गराएका थिए । तर, उक्त बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बहिस्कार ग¥यो ।

‘सरकारले प्रदेश सभा बैठक अन्त्य गरेर प्रश्नहरूबाट भागिरहेको छ । यस्तो अवस्थामा मुख्यमन्त्रीले बोलाएको बैठकको कुनै औचित्य छैन’ माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले भने, ‘आफ्नो जिम्मेवारीबाट विमुख भएर भारत भ्रमण गर्न जाने विषयमा हाम्रो असहमति हो । त्यसैले बैठकमा गएनौँ ।’

धामीले आफू संसदीय दलको नेता हुँदा पनि मुख्यमन्त्रीले आधिकारिक खबर नगरेकोमा पनि गुनासो पोखेका थिए । माओवादी केन्द्रसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पनि बैठकमा नगएको उनले बताए ।

सुदूरपश्चिम प्रदेश सभामा सहभागी सबै दलहरूलाई छलफलमा बोलाइएको थियो । उक्त छलफलमा कांग्रेसको तर्फबाट मुख्यमन्त्री शाहसहित प्रमुख सचेतक विक्रम धामी, नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुख सचेतक इन्दिरा गिरी, राप्रपाका खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा.तारा जोशी मात्रै सहभागी थिए ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले बहिस्कार गरेको हो उक्त छलफलमा नेकपा एकीकृत समाजवादीको पनि सहभागिता रहेको थिएन ।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक नरेश शाहीले कार्य व्यस्तता हुँदा बैठकमा नगइएको बताए । ‘खबर आएको थियौँ हामी बाहिर थियौँ त्यसैले बैठकमा सहभागी हुन नपाइएको हो,’ उनले भने ।

सत्तारुढ दल नेकपा एमालेका संसदीय दलका नेता प्रमुख समेतक पनि काठमाडौँ रहेको हुँदा उक्त बैठकमा सहभागी भएनन् । माओवादीले बहिस्कार गर्दा सत्ता पक्ष विपक्षकै उपस्थिति नहुँदा छलफल अनौपचारिक भएको थियो ।

‘मुख्यमन्त्री शाहले भारत भ्रमणबारे जानकारी गराएका थिए । हामी भारतीय निमन्त्रणमा भारत जान लागेका हौँ’ उनले छलफलमा भने, ‘२५ जना जाने भनेका थियौँ तर दूतावासले १० जनाको मात्रै व्यवस्थापन गर्ने भनेपछि भ्रमण टोलीको सङ्ख्या कम गरिएको हो ।’

भारत भ्रमणका क्रममा कस्ता विषयहरू उठाउने र के गर्ने भन्ने विषयमा मुख्यमन्त्रीले सुझाव लिन खोजेको छलफलमा रहेका स्वतन्त्र सांसद डा। जोशीले जानकारी दिए ।

‘भारत जाने निश्चित भएपछि कसरी भ्रमण फलदायी बनाउने भन्ने विषयमा उहाँले सुझाव माग्नु भएको थियो’ उनले भने ‘हामीले आफूहरूसँग भएको सुझाव दियौँ ।’
डा ।जोशीले सीमा सहजता, पर्यटन प्रवर्द्धन, विषादीयुक्त फलफूल।तथा सरकारीमा नियन्त्रण गर्नेगरी भ्रमण टोली छलफल गर्नुपर्ने बताएका थिए । प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमार्फत लगानी भित्राउनेगरी भारतका लगानीकर्ताहरूसँग पनि समन्वय गर्नु पर्ने उनले सुझाव दिए ।

भ्रमण टोलीमा सरकारको तर्फबाट मुख्यमन्त्री शाहसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा छन् । कांग्रेस र एमालेका मुख्यमन्त्री र मन्त्री परेको टोलीमा माओवादी केन्द्रबाट झपट साउद, नागरिक उन्मुक्ति पार्टीबाट घनश्याम चौधरी र नेकपा एकीकृत समाजवादीबाट नरेश बहादुर शाही छन् ।

मुख्यमन्त्रीसँग उनका राजनीतिक सल्लाहकार डा।जितु उपाध्याय र उनका स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा छन् । प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर विष्ट, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव पनि भ्रमण टोलीमा छन् ।

तपाईको प्रतिक्रिया