हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले आफैंले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने तोकआदेशको चौतर्फी विरोध भएको छ ।हेटौंडाका अधिवक्ता, प्राध्यापक, युवा व्यवसायीलगायतले मेयरको तोकओदशको खुलेरै विरोध गरेका छन् । ३ वैशाखमा हेटौंडा–४, शितलमहल चोकस्थित दी नाइन्टिन सैलुनमा एसी र इन्भर्टर मागसम्बन्धी पत्र मेयर लामा समक्ष पेस भएको थियो ।
मागपत्रमा आर्थिक शाखालाई सम्बोधन गर्दै माग भएको सामग्रीको लागत अनुमान तयार गरिदिनका लागि निर्देश गरिएको छ ।मेयर लामाको तोकपछि ३ गतेको मितिमा १८३२६ नम्बरबाट उक्त पत्र दर्ता भएको छ ।मेयर लामाको आफन्त नाता पर्ने सैलुनका सञ्चालक सुसन घलानको अनुरोधमा उनी सैलुनको उद्घाटन गर्न गएको सोही क्रममा एसी जडानको लागि सहयोग गर्ने वचन दिएको मागपत्रमा उल्लेख छ ।
‘उद्घाटन कार्यक्रममा तपाईंले भन्नुभएको ‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानको लागि सहयोग गर्छु’ भन्ने कुरा सम्झेर, यो औपचारिक निवेदन लिएर उपस्थित भएका छु’, पत्रमा जनाइएको छ ।सञ्चालक घलानले गर्मी अत्यधिक भएको र सैलुनमा ग्राहकको भिड बढिरहेकाले आरामदायक सेवा दिन एक थान एसीको आवश्यकता परेको मागपत्रमा बताएका छन् ।साथै, हेटौंडामा लोडसेडिङ तथा अनियमित विद्युत् आपूर्तिका कारण सैलुनको सेवा अवरुद्ध हुने अवस्था आउने भएकाले इन्भर्टर ९ब्याकअप पावर० को आवश्यकता रहेको घलानले बताएका छन् ।
हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले कार्यलयबाट तोकआदेशमा धेरै काम हुने र भइरहेको बताउँदै यसलाई सामान्य लिनुपर्ने धारणा राखे । उपमहानगरबाट सैलुनलाई ‘ल्याब बनाउने’ योजना भएर एसी र इन्भर्टर सहयोग गर्न खोजिएको बारे आफूले जानकारी पाएको उनको भनाइ छ ।उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले काम गर्छु भनेर स्थानीय सरकारको ढोकामा आएको युवालाई सहयोग गर्न खोजिएको बताए ।हाल लागत योजना तयार पार्न भनिएको र माग भएको सामग्री दिने वा नदिने निर्णय हुन बाँकी रहेको उनले बताए ।



उज्यालो खबर




