काठमाडौं । पार्टीका अध्यक्षलाई पोलिटब्युरोका नेताले भेट्नु कुनै समाचारको विषय होइन, तर एमालेमा मंगलबार यस्तै भयो ।
सोमबार, अर्थात् नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कतिपय नेताहरुलाई आफैंले फोन गरेर शुभकामना दिएथे । ओलीको फोन उठाउनेमध्ये एक थिइन्, विन्दा पाण्डे ।
एमाले मुख्यालय निर्माणका लागि जग्गादान प्रकरणको विरोध गरेवापत पोलिटब्युरोबाट ६ महिनाअघि निलम्बित थिइन् पाण्डे । उनीसँगै केन्द्रीय सदस्य उषाकिरण तिम्सेना पनि निलम्बित थिइन् । तर पाण्डेको नाममा निलम्बनको चिठी नै गएनछ । अध्यक्ष ओलीले यो तथ्य थाहा पाउन पनि ६ महिना नै लाग्यो ।
ओलीले डायल गरेको वैशाख १ को फोनले पाण्डेलाई वैशाख २ अर्थात् भोलिपल्ट मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुर्यायो । दिउँसो १ बजे एक्लै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भेट्न पुगेकी उनले ४५ मिनेट बिताइन् ।
‘निलम्बन भएको ६ महिना भइसक्यो, न निलम्बनकै चिठी पाइयो, न फुकुवाकै,’ पाण्डेले प्रधानमन्त्री ओलीसँग राखेको विषय सुनाउँदै एमाले स्रोतले भन्यो ।
ओलीले अहिलेसम्म यसबारे जानकारी नगरिएकामा अनौठो माने । उनले पुरानो वर्षका तितामिठा विर्सेर पार्टी काममा लाग्न आग्रह गरे ।



उज्यालो खबर




