काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको विषय अन्तर्राष्ट्रियकरण गर्ने बताएका छन्।शनिबार चितवनबाट रास्वपाले शुभारम्भ गरेको जनयात्रालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले बदनीयतपूर्ण ढंगले सभापति लामिछानेको सांसद पद निलम्बन गरिएको भन्दै त्यस विषयलाई अन्तर्राष्ट्रिय फोरममा पुर्याउने बताएका हुन्।
यत्रो भारी मतले जितेको व्यक्तिको सांसद पद निलम्बन गरियो, सांसदको भूमिका खुम्च्याउन खोजियो। जेनेभामा रहेको इन्टर पार्लियामेन्ट्री युनियन लगायतका फोरमहरूमा यो मुद्दा पुर्याउनेछौं, उनले भने।उपसभापति वाग्लेले तीनकुने घटना पनि अन्तर्राष्ट्रियकरण गर्ने बताए।
तीनकुनेको घटनामा सरकारले छानबिन नगरे पनि भोलि तिनीहरूले सभ्य मुलुकको भिसा नै नपाउने गरेर, तिनिहरूलाई ब्ल्याकलिस्ट हुने गरी मुद्दाको अन्तर्राष्ट्रियकरण गर्नेछौं,उनले भने।त्यति मात्रै होइन वाइडबडीमा भएको भ्रष्टाचार प्रकरणलाई पनि अन्तर्राष्ट्रियकरण गर्ने बताए।
वाइडबडीमा तिनीहरूले खाएको घुसबारे पनि अमेरिकी अदालतमै मुद्दा हालेर तिनीहरूको नाम सार्वजनिकको पहल गर्नेछौं, उनले भने।त्यसकारण हेप्न, पेल्न र कुल्चन सकिन्छ भने पनि अहिलेको सरकारको अन्तर्राष्ट्रिय हैसियत नभएको उनले बताए।



उज्यालो खबर




