काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ ।आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो ।
हिंसात्मक आन्दोलनका क्रममा ११२ जना पक्राउ परेका छन् । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोयल टास्क फोर्स (आरटीएफ) का कमाण्डर लगायत रहेका छन् ।राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार भएका छन् ।
पक्राउ परेका मध्येहरूबाट स्क्रिनिङ गरेर म्याद थप गराई अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये कसलाई कुन मुद्दा लगाउने भन्ने टुंगो लागिसकेको छैन ।१५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।

उज्यालो खबर