×

– टुकप्रसाद काफ्ले

देशलाई आफ्नै घर सम्झनु
बिरामीलाई परिवार सम्झनु
आफ्ना हजारौं रहर मर्छन्, मारिन्छन्
सेवा गर्नु नै रहर सम्झनु

तिमीले तिमीलाई नै चिन
दुनियाँ चिन्दैन कसैलाई
एक दिन उ विवश हुनेछ अवस्य
मृत्यु संग लडिरहेकाले नयाँ जीवन पाउँदा
आफ्ना आफन्तले आलाप विलाप गर्दै
पुकार गरीरहँदा भगवान लाई
जब तिमीलाई साक्षात्कार गर्नेछन्
पूज्ने छन् हरदम तिमीलाई जयजयकार गरी
मन्दिर, मस्जिद, चर्च अनि चैत्य गुम्बामा
तिम्रो दीर्घ जीवनको कामना गर्नेछन् !!

 

तिमी कुनै देवालय धाउनु पर्दैन
पर्दैन तिमीले भगवान संग कुनै सर्त गर्न
पर्दै पर्दैन भोकभोकै बसी कुनै दिन व्रत गर्न
तिमीले पानी नखाई कयौ पटक अप्रेशन गरेकाछौ
होस आवस भनी पल पल भगवान पुकारेकाछौ
पर्दैन कुनै वर पीपलमा पानी चढाई रहन
तिमीले चढाएको स्लाइनले
ढलेको मुर्दा व्युतिएको छ
पर्दैन तिमीले प्रसादी बाढ्न
तिमीले दिएको ओखती अमृत बनेको छ !!!

 

सिंगो मुटु करङको ओडारमा
ढाकेर हिड्ने जालन्धरले
नबुझ्न सक्छ तिमीलाई
तिमी त सबैको मुटु भित्र छिरी
खोलिदिनेछौ रोकिनै लागेको धड्कन
अनि बढाई दिनेछौ गति बिस्तारै बिस्तारै
तिमी जीवन दाता है
नयाँ पालुवा फेरिदिने प्रकृति हौ
लुटिएको मुस्कान खोजिदिने प्रहरी हौ
उजाड बगैंचा ढकमक्क पारिदिने माली हौ !!!!

 

तिमीलाई मैले बुझेको छु, मैले चिनेको छु
म जस्ता हजारौंले बुझेका र चिनेका छन्
तिमी तिम्रो विधामा प्रखर बन
तन, मन, वचन र कर्म लगाऊ
आरोप आउन सक्छन्
लाल्छना लाउन सक्छन्
डाक्टर तिमी भगवान हौ
भगवानले गल्ती गर्दै गर्दैनन्
गल्ती गर्ने भगवान हुनै सक्दैन
भगवानले जीवन दिने हो
आयु त प्राकृतिक नियम हो।
जसरी कृष्णले अभिमन्युलाई
चक्रव्यूहबाट फर्काउन सकेनन
जीवन दिलाए तर आयु दिन सकेनन !!!

तिमि ब्रह्मा हौ, बिष्णु हौ महेश्वर हौ
पत्तै भएन को हौ तिमि अरुका लागि
मेरा लागि महिमान हौ, स्वाभिमान हौ
डाक्टर तिमि साच्चै भगवान हौ !!!!

(सर्जक टुक प्रसाद काफ्ले (टुके अजिव) गैँडाकोट नगरपालिकाको कार्यालयमा आवद्ध हुनुहुन्छ । )

तपाईको प्रतिक्रिया