×

काठमाडौं-  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई २०८४ सालको निर्वाचनमा एकल बहुमत आउने गरी बनाउन सकिने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एकढिक्का बनाएर कांग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमत सहितको ५ वर्ष ढुक्कले सरकार बनाउन सकिने जिकिर गरे।

यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी नेपाली कांग्रेसलाई बनाउन सक्ने महामन्त्री थापाको भनाइ थियो।उनले त्यसका लागि पार्टी भित्रको एकताको आवश्यक्तामा जोड दिए। बिपी, गणेशमान, किसुनजीको पार्टी नेपाली कांग्रेस भएकाले सो पार्टीलाई आगामी निर्वाचनमा बलियो शक्ति बनाउन सम्भव रहेको पनि महामन्त्री थापाले बताए।

उनले भने, ‘म तपाईंहरूलाई यो विश्वास दिलाउन चाहन्छु कि यो पार्टी सकिएला, पार्टी भत्किएला। त्यो केही पनि हुँदैन। २०८४ सालको चुनावबाट, अहिलेकै निर्वाचन प्रणालीबाट बिपी कोइराला, गणेशमान, किसुनजीको पार्टी हो यो। यो पार्टीको कार्यकर्ताहरु हौं हामी। हामीभित्र केही सुधार चाहिएको छ। हामीभित्र केही फोहोर सफा गर्नुपर्नेछ। हामीभित्र माया, प्रेम चाहिएको छ।

सबै कुरा मिलाउनुपर्नेछ, मिलाऔं। यो सबै कुरालाई मिलाएर एक ढिक्का बनाएर, तपाईंहरूको माया, प्रेम यो सबै कुरालाई तागत बनाएर यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशत भन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी यो बन्छ, बनाउन सक्छौं।’ महामन्त्री थापाले कांग्रेसले सरकारमा नरहेर पनि जनताको सेवामा निरन्तर लाग्नुपर्ने बताए। —न्युज एजेन्सी नेपाल

तपाईको प्रतिक्रिया