चितवन- शुक्रबार र शनिबार साँझको हावाहुरीले चितवनमा सयौं बिघा जमिनमा लगाइएको केरा नष्ट भएको छ।केरा महासंघ नेपाल अध्यक्ष विष्णुहरि पन्तले हावाहुरीका कारण १० देखि १५ करोड रूपैयाँ बराबरको केरामा क्षति पुगेको बताए।
पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति पुगेको छ।पन्तले पूर्व-पश्चिम राजमार्गदेखि दक्षिणतर्फ गरिएको खेतीमा हावाहुरीको असर अझै बढी परेको बताए।चितवन केरा उत्पादक संघका अनुसार करिब २५ सय बिघामा लगाइएको केरामा क्षति पुगेको छ।
चितवनमा ३५ सय बिघामा केरा खेती भइरहेको छ।संघका अध्यक्ष माधवप्रसाद घिमिरेले केरा व्यवसायमा अहिलेसम्मकै सबभन्दा ठूलो क्षति पुगेको बताए।मैले ५ बिघा ३ कट्ठामा लगाएको ८ हजार बोट केरा बजार पठाउन तयार हुँदै थियो। १५-२० दिनमा बजार पठाउन मिल्ने हुन्थ्यो। तर सोच्दै नसोचेको क्षति पुग्यो, उनले भने, अहिले खेतमा एउटा बोट पनि बचेको छैन। सबै सोतर भयो।हावाहुरीका कारण पूर्वी चितवनमा सबै किसानले केही न केही क्षति बेहोरेको उनले बताए।
गत वर्ष वैशाखमा पनि हावाहुरीका कारण चितवनका किसानले करिब ५ करोड रूपैयाँ बराबरको केरामा क्षति बेहोरेका थिए। त्यसबापत् बीमा कम्पनीबाट पाउनुपर्ने करिब ५० प्रतिशत क्षतिपूर्ति रकम अझै प्राप्त हुन नसकेको केरा महासंघ नेपालका अध्यक्ष पन्त बताउँछन्।
उनका अनुसार चितवनका किसानले केरा खेतीमा करिब ६० करोड रूपैयाँ बराबरको बीमा गरेका छन्। शिखर इन्स्योरेन्सबाट मात्रै ५१ करोड ५० लाख रूपैयाँको बीमा गरिएको छ।
प्रतिबोट २७५ रूपैयाँ लागत मूल्य तोकेर बीमा गर्ने गरिएको छ। बीमा गरेको पहिलो ३ महिनामा क्षति पुगे ५५ प्रतिशत, ४ देखि ६ महिनामा ६५ प्रतिशत, ७ र ८ महिनामा क्षति हुँदा ७५ प्रतिशत र ९ देखि १२ महिनामा क्षति हुँदा सत प्रतिशत क्षतिपूर्ति दिनेगरी बीमाको व्यवस्था गरिएको छ। केराको बिरूवा रोपेको २ महिनाभित्रमा बीमा गरिसक्नुपर्ने र क्षति पुगेको ३५ दिनभित्र क्षतिपूर्ति दिइसक्नुपर्ने व्यवस्था छ।
कति अवधिमा क्षति पुगेको हो त्यो हेरेर १० प्रतिशत कटाएर क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। तर बीमा कम्पनीले अघिल्लो वर्षकै ५० प्रतिशत क्षतिपूर्ति दिएको छैन, अध्यक्ष पन्तले भने, कम्पनीले सरकारले प्रिमियम बापतको पैसा दिन नसकेकाले क्षतिपूर्ति रकम उपलब्ध गराउन नसकेको बताएको छ।

सेताेपाटीबाट !



उज्यालो खबर




