एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताएका छन्।पार्टीको काठमाडौँ महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसदमा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको जिकिर पनि गरे।
‘मैले हिजो पनि भने साह्रै अचम्मको कुरा के भने नेपाली कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुस् डेढ वर्षका लागि भन्न जान्छ। कागज लिएर सम्झौता गरौ भन्न जान्छ राति। त्यो कागजमा उसले सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ। रातिसम्म त्यो मान्छे काँग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो,’ उनले भने।
आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछाने कसरी सहकारीको भ्रष्टाचारी भयो ? भनि प्रश्न समेत गरे।कांग्रेसले उपप्रधानमन्त्रीमाथि सहकारी ठगीको आरोप लगाएपनि त्यसको खण्डन गर्नका लागि संसदमा बोल्न नदिएको ओलीको भनाई थियो।
‘कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो। के भएको हो कांग्रेस ? संसद चल्न दिन्न भन्छ, किन ? आफू बोल्छ, अरुलाई आरोप लगाउँछ। आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन। बोल्न दिँदैन,’ ओलीले भने, ‘आरोप लगाउने, संसदमा आरोप लगाउने, आरोपको खण्डन गर्छु म, बोल्छु म भन्दा अर्कोलाई बोल्न नदिने। यस्तो लोकतन्त्र हुन्छ कहीँरु जुन नेपाली कांग्रेसले गरेको छ। र नेपाली काँग्रेस आफू लोकतान्त्रिक शक्ति होइन, सत्ता स्वार्थमा चुर्लुम्म डुबेको, सत्तास्वार्थमा केन्द्रित भएको र न्यायको पक्षमा होइन, जथाभावीको पक्षमा नेपाली कांग्रेस गएको स्पष्ट देखिएको छ।’



उज्यालो खबर




