×

काठमाण्डौ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय चार पाङ्ग्रे सवारी साधन भित्र्याउने होडबाजी चलेको छ । अटोको व्यापारमा स्थापित घरानादेखि नयाँ व्यवसायीहरुले समेत इभी गाडीकै आयातमा ध्यान केन्द्रीत गरेका छन् । जसका कारण विभिन्न मुलुकमा बनेका इभी गाडीहरु एकपछि अर्को नेपाल भित्रिने क्रम तीव्र बनेको छ ।

यो क्रममा चीनमा बनेका इभी गाडीहरुको बोलवाला चलिरहेको छ । आधुनिक र नयाँ फिचर्सले सुसज्जित इभी गाडी भित्र्याउने होडबाजी निकै रोचक पनि देखिन्छ ।यहीबेला इभी गाडीका आयातकर्ताहरुमध्ये कतिपयले एकथोकको प्रचार गरी कम गुणस्तरका गाडी समेत धमाधम भित्र्याइरहेका छन् । प्रचार एकथोक गरी ग्राहकलाई लोभ्याउने, तर गुणस्तरहीन प्रडक्ट थमाएर ठगीधन्दा चलाउने क्रम पनि उत्तिकै बढेको छ ।

यो क्रममा कसैले आफूले भित्र्याएको इभी गाडीले दिने माइलेजको नाममा ठगी गरिरहेका छन् भने कतिपयले त सामान्य गाडीलाई समेत प्रिमियम भन्दै बिक्री गरिरहेका छन् ।विभिन्न झूठा प्रचारको पछि लागेर इभी गाडी किन्न तँछाडमछाड गर्ने कतिपय ग्राहकहरुको यसप्रतिको धारणा नै नकारात्मक बन्ने डर पनि उत्तिकै बढेको छ । इभी गाडीको व्यापार भर्खरै चम्किरहेको नेपालजस्तो मुलुकमा बिजुलीमा चार्ज गरेर निकै कम लागतको इन्धनमा कुदाउन सकिने गाडीहरुको परफरमेन्स प्रचार गरिएजस्तो सन्तोषजनक भने छैन । यसको थप पुष्टि गर्न शुक्रबारको एउटा घटना काफी छ ।

शुक्रबार एक मिडिया कम्पनीले ललितपुरको कुपण्डोलदेखि सौराहासम्मको मोटर र्‍याली आयोजना गरेको थियो । जसमा नेपालमा चार पाङ्ग्रे विद्युतीय साधनमा बजार तताइरहेकादेखि भर्खरै भित्रिएका इभी ब्राण्डका गाडीहरु समेत सहभागी थिए ।कुपण्डोलबाट सुरु भएको सो र्‍याली दक्षिणकाली, भीमफेदी हुँदै हेटौडा निस्किएर सौराहासम्म पुग्ने कार्यक्रम रहेको थियो । सोही रुट हुँदै सौराहाका लागि हिँडेका नेपालको इभी मार्केटमा निकै राम्रो व्यापार गरिरहेका टप भनिएका ब्राण्डहरुले नै चालकलाई धोका दिए ।

र्‍यालीका एक सहभागीका अनुसार एमजीको जेड एक्स र डिपलका इभी गाडी भीमफेदीको उकालो उक्लिनै सकेनन् । कयौं कोशिश गर्दा पनि एमजीको जेड एक्स र डिपलका गाडी उक्लिन नसकेपछि काठमाण्डौ फर्काइएको थियो ।‘भीमफेदीको उकालो हुँदै देउराली पार गर्ने क्रममा बीवाइडीको अट्टो थ्रीको समेत बिजोग अवस्था देखियो ।’ ती सहभागी भने–‘अट्टो थ्री पनि चिप्लिदै जोखिमपूर्ण ढंगले बल्लतल्ल माथिसम्म पुग्यो । एमजी र डिपल त दर्जनौ कोशिशका बाबजुद माथि पुग्नै सकेनन् । अन्य कम्पनीका केही इभी गाडीलाई भने ठेलेर पनि माथि पुर्याइएको बिजोगलाग्दो दृश्य देखियो ।’

पावर र पिकअप प्रचार गरिएजस्तो राम्रो नहुँदा इभी गाडीहरुमा यस्तो समस्या देखिएको अनुभवी ग्राहकहरुको भनाई छ । भीमफेदीको उकालो नै चढ्न नसक्ने गाडीलाई ल्याएर महङ्गो मूल्यमा भिराइएको छ । ग्राहक पनि यसमा चूपचाप ठगिन तयार छन् । मोटर-र्यालीमा सहभागी अर्का इभीप्रेमीले भने-यसबाट त्यस्ता उकालो हुँदै भोलिका दिनमा सर्वसाधारणले पावर र परफरमेन्स कम भएका इभीबाट यात्रा गर्न असम्भव छ भन्ने पनि देखाउँछ ।

नेपालमा पछिल्लो समय साह्रै धेरै बिक्री भएको इभीमा पर्छ बीवाइडी ब्राण्ड । यसको अट्टो थ्री धेरैको रोजाई पनि बनेको छ । तर, अट्टो थ्री यसअघि पनि पोखराबाट साराङकोट जाने उकालोमा उक्लिन नसकेको घटना गुपचुप पारिएको थियो । त्यसबेला नाडा अटोमोवाइल एशोसिएसनकै एक पदाधिकारीकी पत्नीले त्यस्तो दुःख पाएकी थिइन् ।

शुक्रबार भीमफेदीको उकालोमा उक्लिन नसकेर काठमाण्डौ फिर्ता भएको एमजीको जेड एक्सको मूल्य ५३ लाखदेखि ७२ लाखसम्म तोकिएको छ । उता, कमजोर फिचर्ससहित नेपाल भित्र्याएर प्रिमियम सेग्मेन्ट भन्दै झूठो प्रचारका भरमा बिक्री सुरु गरिएको डिपलको मूल्य ७२ लाख रुपैयाँ छ ।

विजशालाबाट 

तपाईको प्रतिक्रिया