चितवन–चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउँ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पहिलो खेलमा लखनउँले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
लखनउँले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको भरतपुर ९ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो । घरेलु टोलीका लागि कप्तान दिपेश श्रेष्ठले सर्वाधिक ३२ रन बनाए भने रोशन झाले ३१ र विकल कुमार गुप्ताले २१ रन बनाए ।
लखनउँका लागि कार्तिक यादवले ४ ओभरमा ८ रन मात्रै खर्चिदै २ विकेट लिए भने शरिमले ४ ओभरमा १३ रन खर्चिदै २ र प्रिन्स साहीले ४ ओभरमा २५ रन खर्चिदै २ विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको पीएसआर ग्रुप लखनउँले २ खेलाडीको अर्धशतकको मद्धतमा ९ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पारेको थियो । लखनउँका लागि निखिल रावले ६९ रनको विष्फोटिक अर्धशतकीय पारी खेलेका थिए । उनले २९ बलमा ५ छक्का र ७ चौका प्रहार गरेका थिए ।
उनी नयन प्रधानको बलमा रोशन झाबाट समातिन पुगेका थिए । कप्तान तथा विकेटकिपर सहिन हसनले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए । सौगात ढकालबाट क्याचआउट हुनुअघि हसनले ४१ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए । समीर अन्सारीले २४, अमित शर्माले १२ रन बनाए । लखनउँका ३ खेलाडी शून्यमा आउट भएका थिए । लखनउँले १३५ रन बनाउँदा ५ विकेट गुमाई सकेको थियो भने छैठौं विकेटको लागि सर्वाधिक ५५ रनको साझेदारी भएको थियो । लखनउँले अन्तिममा २०४ रन बनाउँदा लगातार ३ विकेट गुमाउन पुगेको थियो ।
भरतपुरका लागि नयन प्रधानले ५ विकेट लिए । उनले ४ ओभरमा मात्र २६ रन खर्चिएका थिए भने १३ डट बल फालेका थिए । उनी एकै खेलमा ह्याट्रिकसहित ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । कप्तान दिपेश श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चिदै २ विकेट लिए भने गौतम केसी र सौगात ढकालले समान एक विकेट लिए ।
यसैबीच आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७ रनले पराजित ग¥यो । सुदूरपश्चिम प्रदेशले लिएको दिएको १८४ रनको लक्ष्य पछ्याएको मधेश ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो । मधेशका लागि ओपनर साहिल पटेलले सर्वाधिक २५ रन बनाए । २० बल खेलेका साहिलले ३ चौका प्रहार गरे । निरज यादवले २४ र रोशन वि.क.ले २३ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मेधश पराजित हुन पुग्यो ।
३३ रनमा पहिलो विकेट गुमाएको मधेश त्यसपछि सम्हालिन नसक्दा लक्ष्य भेट्टाउन सकेन । सुदूरपश्चिमका लागि दीपक बोहोराले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिए भने युवराज खत्रीले २ ओभरमा १५ रन र भोजराज भट्टले ४ ओभरमा १८ रन खर्चिदै समान २ विकेट लिए । नरेन साउद र बसन्त खत्रीले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । उसका लागि बसन्त कार्कीले सर्वाधिक ४३ रन बनाए । २७ बल खेलेका कार्कीले ३ चौका र २ छक्का प्रहार गरे । टेक रावतले २४ बलमा ३४ रन, खडक बोहोराले १६ बलमा ३१ रनको विष्फोटक पारी खेले । ओपनर दिपक बोहोराले २३ बलमा २७ रनको पारी खेले । बसन्त कार्की र टेक रावतले ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
मधेशका लागि प्रदीप पासवानले २ विकेट लिए भने प्रतिभ यादव, भुलन सहनी, अभिषेक तिवारी र अरनिको यादवले समान एक विकेट लिए ।
पहिलो जितसंगै प्रतियोगितामा लखनउँ नेटरनरेटको अधारमा शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम पहिलो जितसंगै २ अंकका साथमा दोस्रो र २ खेलमा एक जित र एक हारका साथ घरेलु टोली भरतपुर समान २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ सहभागि छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।



















उज्यालो खबर









