काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले बसन्त चौधरीसँग पनि बयान लिएको छ।सिआइबीले चौधरीसँग बुधबार नै बयान लिइएको सिआइबीको उच्च स्रोतले जानकारी दिएको छ।
बसन्त चौधरीसँगको बयानपछि आज बिहान सिआइबीले कांग्रेस सांसदसमेत रहेका विनोद चौधरीसँग बयान लिएको छ।उनी बिहान ७ बजे बयानका लागि सिआइबी कार्यालय पुगेका थिए।यसअघि माघ १८ गते बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरूण चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो।
बाँसबारी जग्गा प्रकरणमा तीन महिना अनुसन्धान गरेपछि सिआइबीले त्यहाँको १० रोपनी जग्गा हडपेको भन्दै अरूण चौधरीसहित च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।
कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो।उनीहरूले १० रोपनी मात्रै नभएर त्यहाँ रहेको १८ रोपनी जग्गा नै हडप्न खोजेको सिआइबीले बताएको थियो।पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतले सुरूमा चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
गत माघ २२ गते म्याद थपका लागि अदालतमा पेस गर्दा न्यायाधीश यज्ञप्रसाद आचार्यले दुई दिनमा अनुसन्धान सके पेस गर्नु, नसके हाजिर जमानीमा छाड्न आदेश दिएका थिए। आदेशअनुसार माघ २४ गते उनीहरू सिआइबी हिरासतबाट मुक्त भएका थिए।
त्यसपछि मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको थियो। उक्त पत्रको विरूद्धमा सञ्जयले रिट दायर गरेका थिए।
फागुन १८ मा सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ।
हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन छ।



उज्यालो खबर




