×

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणले पनि काम गर्न नसके देश अप्ठेरो अवस्थामा जाने बताएका छन् ।मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्प सार्वजनिक कार्यक्रममा उनले जनतामा आशा जगाउनकै लागि यो गठबन्धन बनाएको बताए ।

‘यो समीकरण र यो संकल्पबाट पनि डेलिभरी भएन, जनतामा आशा जगाउन सकिएन, विकास गर्न सकिएन भने देश निकै नै अप्ठेरो अवस्थामा जाने खतरा छ’, उनले भने ।अहिलेको समीकरण आफू प्रधानमन्त्री पदमा रहिरहनका लागि नभई नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यले भएको उनले बताए ।

नयाँ गठबन्धन बनेको केही दिनमा नै राम्रो काम भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सडकमा जायज माग राखेर भइरहेका विरोधलाई सम्बोधन गरिएको बताए । सडकमा जथाभावी माग राखेर हिँड्नेहरुलाई भने कारबाही गर्ने उनले बताए ।प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुलाई पनि विगतको भन्दा नयाँ ढंगले काम गर्न निर्देशन दिए ।

‘हिजोको घोषणा र आजको घोषणा, हिजोको परिस्थिति र आजको परिस्थितिमा फरक आएको छ । विकास र समृद्धिको यात्रा प्रारम्भ गर्दैछौं भनेर सेवा प्रवाह गर्नुपर्छ’, उनले भने, ‘फेरि एकचोटी हामीले कामद्वारा, परिणामद्वारा जनताको भरोसा जित्नुछ ।’

तपाईको प्रतिक्रिया