निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रहरीले सहकारी ठगीको कसुरमा नवनियुक्त गृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान गरिरहेको छ।तर आरोपित व्यक्ति नै अब अनुसन्धान गर्ने निकायको प्रमुख भएका छन्। रवि लामिछानेविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी जिल्ला प्रहरी कार्यालय कास्की र सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ।
यस्तै अन्य सहकारीका विषयमा रुपन्देही, चितवन, पर्सा र काठमाडौँमा पनि अनुसन्धान भइरहेको छ। उनी समेत जोडिएका यी मुद्दाका प्रमुख आरोपी भने जीबी भन्ने गितेन्द्रबाबु राई हुन्। तर उनी हाल मलेसियामा फरार छन्। उनलाई नेपाल डिपोर्ट गराउन प्रहरीले सुरुमा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको थियो।
पछि मलेसियाले जीबीलाई डिपोर्ट गर्नुको सट्टा भिसा थपिदियो। भिसा थपिदिएपछि प्रहरीले फेरि ताकिता गरेको थियो। मलेसियाले डिपोर्ट गर्नका लागि कूटनीतिक नियोग मार्फत पत्र पठाउन भन्यो। नेपाल प्रहरीले परराष्ट्र मन्त्रालय हुँदै जीबीलाई डिपोर्ट गराउन पत्र पठाइसकेको छ।
गृहमन्त्रीमा नियुक्त भएका रवि लामिछाने जीबीका व्यावसायिक साझेदार समेत हुन्। ग्यालेक्सी फोरके टेलिभिजनमा उनीहरु दुवैको सेयर थियो। तर पछि रविले टेलिभिजन छाडेका थिए र आफ्नो सेयर पनि बिक्री गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको सूर्यदर्शन सहकारीको मुद्दामा रवि लामिछानेविरुद्ध पनि जाहेरी परेको छ। उक्त मुद्दामा अनुसन्धान गर्न सीआईबीको टोली पनि पोखरा पुगेको थियो। रविविरुद्ध जुन कसुरमा जाहेरी परेको हो, त्यस अनुसार कारोबार भएको प्रमाण समेत फेला पारेको अनुसन्धानमा संलग्न अधिकारीले बताए।
‘पुरक जाहेरी परेपछि हामीले सीआईबीबाट प्राविधिक टोली झिकाएर अनुसन्धान गरेका थियौँ। उहाँ (रवि लामिछाने) ले गैरकानुनी रुपमा गरेका कारोबारको प्रमाण फेला परेको छ। त्यसलाई थप कागजातले पनि प्रमाणित गर्ने काम भइरहेको छ। तर मुद्दा चलाउने कि नचलाउने भन्ने विषयमा भने माथिल्लो निकायसँग परामर्शमा छौँ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने।



उज्यालो खबर




