काठमाडौँ । नेकपा माओवादी केन्द्रको बिहीबारबाट जारी स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
बिहीबारको बैठकमा माओवादी विशेष रूपान्तरण अभियानको वर्गीकरण र मूल्याङ्कन,आउँदो अभियानको तयारी,संगठनात्मक कार्यविभाजन,सुदूरपश्चिम प्रदेशमा दल नेता फेरबदललगायतका विविध चारवटा एजेण्डामा केन्द्रित रहेर छलफल गरेको माओवादीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले बताए ।
आजको बैठकमा भने भूकम्पपछिको पुनर्निर्माण,मधेश प्रदेश सरकारलाई विस्वासको मत दिनेबारे छलफल गर्नुका साथै माओवादी विशेष रूपान्तरण अभियानमा उत्कृष्ट काम गर्ने सातै प्रदेशबाट तीनरजना सहित थप तीन प्रदेशका(माओवादीले मानेको उपत्यका विशेष कमिटी र अन्य दुई संगठनात्मक विभाग सहित) उत्कृष्ट योगदान गर्नेलाई सम्मान गर्ने र कम योगदान गर्ने तथा योगदान नै नगर्नेलाई सोहीअनुसारको कारबाही गर्ने कार्यक्रम तय गरेको प्रवक्ता सापकोटाले बताए ।
माओवादीले अभियानमा राम्रो,नराम्रो दुवै काम गर्नेको नाम आजै सार्वजनिक गर्दैछ ।
‘पहिलो पटक हाम्रो पार्टीले कामको आधारमा मूल्याङ्कन गरेको छ । अभियानमा सबैभन्दा बढी खट्ने, राम्रै खट्ने, खट्ने तर काम नगर्ने, नखट्ने गरी चार क्याटेगरीमा छुट्याएका छौं । त्यो मध्ये १० वटै प्रदेशबाट तीन,तीन जना उत्कृष्ट काम गर्ने र काम नगर्ने नेतालाई कारबाही गर्ने निर्णय भएको छ,त्यो नामहरू आजै सार्वजनिक गर्छौ । राम्ररी काम नगर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउने, चेतावनी, निलम्बनलगायत हुनेछन्,’ सापकोटाले भने ।

उज्यालो खबर