रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टाँडीमा आइतबार देखि पाँचौ रत्ननगर सांस्कृतिक खाना महोत्सव सुरु भएको छ । रत्ननगर महोत्सव अन्तर्गत आयोजना गरिएको खाना महोत्सवको बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनालले एक भब्य समारोहका बीच उद्घाटन गरेका छन् । सौराहाचोक र टाँडीचोकको बीचमा रहेको बसपार्कको खालीचौरमा खाना महोत्सव सुरु भएको हो ।
३२ वटा स्टल रहेको खाना महोत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।महोत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुको परिकार सहित खानाका स्टलहरु रहेको रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञान बहादुर विसुरालले जानकारी दिए । टिकौलीमा महोत्सव गर्दा टाँडी बजार अझेलमा पर्न नदिन साँस्कृतिक खाना महोत्सव गरिएको विसुरालले जानकारी दिए ।
खाना महोत्सवका स्थानीय खानाको परिकारको बजारीकरणमा जोड दिइएको छ । दिउसो टिकौली स्थित महोत्सवमा रमाउने र साँझ टाँडीमा गीत संगित तथा खानाका परिकारको स्वादको मज्जा लिने गरी खाना महोत्सव गरिएको संघका अध्यक्ष तथा रत्ननगर महोत्सव मुल समारोह समितिका अध्यक्ष शंकर गिरीले बताए । खाना महोत्सवका संयोजक विसुरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगरका उपमेयर यादवप्रसाद पाठक, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ लगायत मन्तब्य राखेका थिए ।
संघका महासचिव उपेन्द्रशर्मा आचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । खाना महोत्सव सुरुहुनुपूर्व रत्ननगरमा शोभायात्रा निकालिएको थियो ।



उज्यालो खबर




