×

चितवन । चितवन राष्ट्रिय निकुञ्जले २२ जना भन्दा बढी मान्छेको ज्यान लिएको जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ । बस्ती पसेर दुःख दिन थालेपछि निकुञ्जले सोमबार दिउँसो ३ः१० बजे निकुञ्जको सुखिभार क्षेत्रबाट ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो ।

निकुञ्ज प्रशासन, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष सहितको प्राविधिक टोलीले चार वटा हात्ती प्रयोग गरेर रेडियो कलर जडान गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार, निकुञ्जको मानव बस्तीमा पस्न थालेपछि निगरानी गर्न रेडियोकलर जडान गरिएको हो ।

‘दशैंपछि मानव बस्ती परेर ठुलो क्षती गरेको थियो’, उनले भने ‘जोखिम नियन्त्रण गर्न र त्यसलाई निगरानी गर्न रेडियो कलर जडान गरेका हौँ ।’ अब केही समयका लागि ध्रवे हात्तीबाट जाखिम कम हुने उनको भनाई छ । रेडियो कलर जडानका क्रममा दुई वटा दाह्रा समेत काटेको उनले बताए ।

रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठको नेतृत्वको प्राविधिक टोली एक सातादेखि परिचालित थियो । हात्तीको खोजिको क्रममा सोमबार सिसवार पोष्टबाट तिन सय मिटर पश्चिमबाट डार्ट गर्न सफल भएको उनले बताए । डार्ट गरेपछि एन्टीजोड दिएर छोडिएको उनले बताए ।रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ र के गर्दैछ भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्ने उनले बताए । अरु हात्तीभन्दा चलाख भएकाले ध्रुवेलाई रेडियोकलर जडान गर्न कठिन भएको थियो । यस हात्तीले २२ जनाभन्दा बढीको ज्यान लिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया