काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।
उक्त मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने पीडित (गौशाला-२६) घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गरेका थिए ।
त्यसपछि थुनछेक आदेशसँगै अदालतले सम्बन्धित स्थानीय तहबाट पीडितको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति र नागरिकताको प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमको प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।
तर यसबीचमा अदालतमा फरक(फरक जन्ममिति भएका कागजहरु आइपुगेका थिए । वडा कार्यालयले सुरुमा जिल्ला अदालतमा किशोरीले जन्मदर्ता गर्दाको जन्ममिति १८ असार २०६१ भएको विवरण पठाएको थियो । तर उक्त विवरणमा अदालतले प्रश्न उठाएर अभिलेख नै पठाउन आदेश दिएपछि वडा कार्यालयले जन्मदर्ता अनलाइन माध्यमबाट भएकाले कार्यालयमा अभिलेख नरहेको जवाफ पठाएको थियो ।


उज्यालो खबर