×

चितवन । खैरहनी नगरपालिका चितवनले बिभिन्न कार्यक्रम सहित कर्मचारी दिवस २०८० मनाएको छ । कर्मचारी दिवस २०८० को उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले वर्ष भरी उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारीलाई पुरस्कृत समेत गरिएको छ ।

कार्यक्रमको अवसरमा नगरपालिकामा कार्यरत विभिन्न कर्मचारीहरुले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा मन्तव्य राख्नु हुँदै खैरहनी नगरपालिका प्रमुख शशी कुमार खनियाले कर्मचारीहरुलाई उत्कृष्ट कार्यसम्पादनको वातावरण सृजना गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँ कर्मचारी र जनप्रतिनिधिको सार्थक प्रयास बाट मात्रै नागरिकको अपेक्षा पुरा गर्न सम्भव हुने विचार व्यक्त गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्र। सापकोटाले नागरिकको बढ्दो आकांक्षा सम्बोधन गर्न सदाचार इमान्दार भई निरन्तर सार्थक प्रयासमा लाग्नु पर्ने बताउनु भयो । उहाँले आँफुमा रहेको ज्ञान सीप र मनोवृत्तिमा सकारात्मक सुधार ल्याउन सकेमा मात्रै आम जनताको चाहना पुरा गर्न कर्मचारीतन्त्र सक्षम हुने धारणा राख्नुभयो ।

कार्यक्रममा नगर प्रमुख शशी कुमार खनिया उपप्रमुख कविता उप्रेतीले खैरहनी नगरपालिकामा कार्यरत नगर शिक्षा अधिकारी राजु बानियाँ, प्रशासकीय अधिकृत दामोदर अधिकारी, सि.अ. हे.व सरिता जोशी, सव इन्जिनियर कर्ण बहादुर थापा, नायब प्राविधिक सहायक यमुना सापकोटा, ह.स.चा श्री भीष्म महतो र कार्यालय सहयोगी सुकमाया तामाङलाई दोसल्ला ओडाइ नगद रु ३ हजार र सम्मान पत्र सहित पुरस्कृत गर्नु भएको थियो ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर शिक्षा अधिकारी राजु बानियाँ र खैरहनी नगरपालिका वडा नं १३ वडा अध्यक्ष कुल प्रसाद भुसालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नगरपालिकामा कार्यरत कर्मचारी र नगर कार्यपालिकाका सदस्य सहित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया