×

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने बताएका छन् ।आज मध्याह्न विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यो काण्डको सम्पूर्ण नेक्सस केलाउने बताए ।

‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यही विषयमा कुराकानी भएको उनले जानकारी गराए ।

यसबारे अहिले छानबिन भइरहेको भन्दै उनले राज्यका अरु निकायहरुले पनि त्यसमा सघाउने विश्वास व्यक्त गरे ।एक पत्रकारले भ्रष्टाचारको जरो उच्च राजनीतिक तहसम्म रहेको भन्ने चर्चा रहेको भन्दै राखेको जिज्ञासामा मन्त्री श्रेष्ठले जुनसुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताए । ‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया