×

चितवन । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आजदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ ।

प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँ, भरतपुरमा ११० रुपैयाँ देखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटाएको छ । निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको थियो । निगमले हवाई इन्धनको मूल्य ६.३ प्रतिशतले घटाएको हो ।

प्राधिकरणका अनुसार हवाई भाडामा प्रतिसिट प्रतिमिनेट ७९.७९ रुपैयाँका दरले ‘फ्यूल सरचार्ज’ लाग्ने गर्छ । सोही अनुसार काठमाडौंबाट भरतपुर उड्दा इन्धन खर्च मात्र एक हजार ६०५ कायम हुन्छ ।

काठमाडौं–भरतपुरको उडान अवधि २०.१७ मिनेट मानिएको छ । अहिले भरतपुर–काठमाडौँको हवाइ भाडा चार हजार ५७५ रहेको थियो । अब आजबाट भाडा चार हजार ४६५ हुने भएको छ । भरतपुर– पोखराको भाडामा भने ११५ रुपैयाँले घटेको छ ।

नयाँ दर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा ३४०, भद्रपुरमा ३००, विराटनगरमा २४०, जनकपुरमा १२५, पोखरामा १६०, नेपालगन्जमा ३२५, भैरहवामा २१० रुपैयाँ भाडा कम लाग्ने छ ।

तपाईको प्रतिक्रिया