नवलपुर । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० बाट नवलपुरका पोल्ट्री व्यवसायी बिनोद पोखरेल सम्मानित हुनु भएको छ । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर तथा शिखर सम्मान समारोह २०८० मूल समारोह समितिले पोखरेललाई सर्वोत्कृष्ट कृषक अवार्डबाट सम्मान गरेको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्री डा।बेदुराम भुषालले उहाँलाई उक्त अवार्डले सम्मान गर्र्नुभएको हो । देशभरका १२५ जना कृषक मनोनित भएकोमा पोखरेल पोल्ट्री विदामा सर्वोत्कृष्ट हुनु भएको हो । आयोजकले सात वटा विधामा कृषक र व्यवसायीहरुलाई छनौट गरेको थियो । देशकै ठूला पोल्ट्री व्यवसायी पोखरेल यस अघि बि.सं. २०७७ सालमा राष्ट्र सेवा सम्मानबाट समेत सम्मानित भईसक्नु भएको छ ।
दाउन्ने एग्रो फार्म प्रा।लि।नवलपुुरका कार्यकारी निर्देशक पोखरेलले श्रम र पसिना बगाउँदै माटोको सेवा गर्ने कर्मशील र परिश्रमि भएर नेपालमा पोल्ट्री क्षेत्रमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै उहाँलाई सम्मान गरिएको मूल समारोह समितिका अध्यक्ष शेखर खनालले बताउनुभयो । प्रशंसापत्रमा भनिएको छ “तपाईले आफ्नै बलबुतामा पोल्ट्री व्यवसाय स्थापना गरी आर्थिक समुन्नती एवं रोजगारी सिर्जनातर्फ अग्रसर हुनुभएकोमा हार्दिक आभार व्यक्त गरिन्छ ।”
नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष समेत रहनु भएका पोखरेलले नेपालमा पोल्ट्री व्यवसाय धरासायी हुने स्थिति आएपछि देशैभरका अण्डा उत्पादक कृषकलाई संगठित गरी अण्डाको बजारीकरणलाई पूर्ववत् अवस्थामा फर्काउन नेतृत्व गर्दै आउनु भएको छ । आफ्नै ४ लाख कुखुरा पाल्दै आउनु भएका पोखरेल नेपालमा अण्डा उत्पादन र बजारीकरणमा सबैभन्दा ठूलो कृषक एवं व्यवसायी हुनुहुन्छ ।
तीन दशकदेखि पोल्ट्री व्यवसाय गर्दै आउनु भएका पोखरेल पूर्वी चितवनको रत्ननगर निवासी हुनुहुन्छ । कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उहाँको नेतृत्वको दाउन्ने कर्पोरेट सफल भएको छ । यस अन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एड्भान्स पोल्ट्री, दाउन्ने ट्रे एण्ड प्याकेजिङ छन् । कर्पोरेटको कार्यकारी निर्देशक पोखरेल हुनुहुन्छ ।
बि.संं. २०५१ सालमा आफ्नै काकासँग मिलेर काठमाडौँमा पोल्ट्री फार्म सुरु गर्नुभएका पोखरेलले त्यसको पाँच वर्षपछि फार्मसँगै ट्रेडिङको व्यापार थाल्नुभएको थियो । दाउन्ने ट्रेडर्स नामक कम्पनीबाट उहाँले व्यवसाय सुरु गर्नुभयो । त्यसको केही वर्षपछि २०६३ सालदेखि चितवनमा उहाँको व्यवसाय विस्तार भयो ।उहाँकोे समूहभित्र १ सय २० भन्दा बढी साझेदार छन् । यद्यपि, पोखरेल परिवारको लगानी आधाभन्दा बढी पुगेको छ । त्यसैले निर्णायक भूमिकामा रहेर पोखरेलले काम गर्ने अवसर पाउनु भएको छ ।
बि.सं. २०६८ सालमा किसान दाना उद्योग सञ्चालनमा आएको हो । यससँगै उद्योगले सुरुमा दैनिक आठ टन दाना उत्पादन गर्ने गरेकोमा अहिले यस कम्पनीले दैनिक ५० टन मास दाना उत्पादन गर्दछ । पोखरेलका अनुसार नेपालको सबैभन्दा ठूलो मास दाना फ्याक्ट्री यही हो ।त्यसो त किसान दानासँगै २०७० सालबाट उहाँहरूकै अगुवाइमा दाउन्ने भेट पनि सुरु भयो, जसले कुखुराको औषधि बिक्री व्यवसाय गर्दै आएको छ । यसबाट सस्तो मूल्यमा आफ्ना किसानले औषधि पाएको पोखरेल बताउनुहुन्छ ।
व्यवसाय विस्तारकै क्रममा पोखरेल नेतृत्वको समूहले नवलपरासीको दुम्कीबासस्थित विनयी त्रिवेणी गाउँपालिकामा ३६ बिघा जग्गा किनेर अत्याधुनिक प्रविधिको कुखुरा फार्म सुरु गरेको छ । जर्मनी र मलेसियाको उपकरण जडित अत्याधुनिक उक्त फार्ममा हाल ४ लाख अण्डा उत्पादन गर्ने कुखुरा छन् ।त्यहीँ प्राङ्गारिक मल उद्योग पनि उहाँकै कम्पनीले स्थापना गरेको छ । कम्पनीमा कार्यरत धेरै कर्मचारी शेयरधनी समेत छन् ।
अण्डा उत्पादन गरेसँगै पोखरेलले बजारीकरणमा पनि विशेष ध्यान पु¥याउनु भएको छ । उहाँको भनाइमा केही वर्षभित्र देशका ३० जिल्लामा आफ्नै बिक्री केन्द्र पु¥याइँदै छ । आफैँ उत्पादन गरेर उपभोक्ताको घरनजिकै पसलसम्म अण्डा पु¥याउने लक्ष्य उहाँको छ ।



उज्यालो खबर




