×

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो । संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ ।

सोमबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार माओवादीले मंगलबारको बैठकबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्ने छ ।

कोशी प्रदेश सभाका माओवादीका एक नेताले भने, ‘माथिबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्देशन आएको छ, आज त्यसलाई हामीले औपचारिकता दिँदैछौं ।’ ती नेताले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको पहल पनि अघि बढाउने बताए ।नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन् ।

माओवादीले सरकार छोड्ने निर्णय लियो भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् ।माओवादीभित्र सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याएपछि सरकार छाड्ने कि अगाडि नै भन्ने विषयमा बहस हुँदै आएको थियो । तर त्यस अगाडि नै माओवादीले सरकार छाड्न लागेको हो ।

 

तपाईको प्रतिक्रिया