चितवन। नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति चितवनले आइतबारबाट शिक्षा विकास तथा समन्वय इकाई भरतपुर चितवनमा धर्ना सुरु गरेको छ । विद्यालय कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था हुन नसकेको भन्दै विद्यालय कर्मचारीले धर्ना बसेर विरोध जनाएका हुन् ।
संघीय सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा उल्लेख भएको सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाको व्यवस्था गरिने भन्ने कुराको बेवास्ता गरिएको विद्यालय कर्मचारी परिषद् चितवनका अध्यक्ष सजन मगरले बताउनु भयो । कार्यक्रममा नेपाल शिक्षक महासंघ केन्द्रिय उपमहासचिव गुरु प्रसाद पौडेलले तत्काल बजेटमा बिद्यालय कर्मचारीहरुको तलबमान कायम गरिएन भने निकट भबिष्यमा नेपाल शिक्षक महासंघ केन्द्रिय समितीकै आह्वानमा आन्दोलन गरिने घोषणा गर्नुभयाे ।
त्यस्तै धर्ना सम्बन्धी जानकारी पत्र बुझ्नुहुँदै शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख श्री भुमिलाल सुवेदीले बिद्यालय कर्मचारीहरुका जायज माग सम्बोधनका लागि संघीय मन्त्रालयमा आजै लेखी पठाउने बताउनु भयो। यसका साथै धर्ना कार्यक्रम नेपाल शिक्षक महासघं चितवन जिल्लामा आबद्ध नेपाल शिक्षक संगठनका उपाध्यक्ष रामजी भण्डारी ,एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मिना सिम्खडाको उपस्थिति रहेको थियो र उहाँहरुले सस्थागत रुपमा आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभयाे ।
यस्तै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशनअनुसार विरोधको कार्यक्रम सुरु गरिएको र माग सम्बोधन नभए असर २ गते देखि बिद्यालय बन्द गरेर आन्दोलनमा उत्रने भरतपुर महानगरपालिका समितिका सचिव भुवन सापकोटाले जानकारी दिनुभयो । धर्ना कार्यक्रम जेठ २६ गतेसम्म जारी रहने छ ।
देशैभर विद्यालयमा कर्मचारीको दरबन्दी नभएको, अस्थायी, करार वा निजी स्रोतमा न्यूनतम पारिश्रमिक समेत नपाएको, पेशागत सुरक्षा र हकहित सुनिश्चित नभएको विद्यालय कर्मचारी लामो समयदेखि आन्दोलित छन् । यसअघिको आन्दोलनका माग समेत पूरा नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।





उज्यालो खबर




