चितवन–चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न चितवन कांग्रेसले आग्रह गरेको छ । आत्महत्या दुरुत्साहनमा संलग्नविरुद्ध किटानी जाहेरी दिइसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेको कांग्रेसको गुनासो छ । मंगलबार साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको साथबाट प्रहरीले आठ पेज लामो सुसाइड नोट फेला पारेको थियो ।
एक जना आरोपित जिल्ला भित्रै हुँदा पनि प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले आज जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै छ । बिहान साढे ११ बजे प्रहरी कार्यालय घेराउ गर्ने कार्यक्रम राखिएका नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । कँडेल नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य थिए ।
किटानी जाहेरीमा नाम भएका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावलविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको चितवन प्रहरी प्रमुख एवम् एसपी रामेश्वर कार्कीले जानकारी दिए । उनीहरुलाई पक्राउ गर्न चितवन प्रहरीले सिआईबी, अपराध महाशाखा लगायत सबै निकायमा सर्कुलर जारी गरिसकेको उनले बताए ।



उज्यालो खबर




