×

रुपन्देही । व्यावसायिक घराना आईएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म ३ किलोमिटर लामो लुम्बिनी केबलकार आउँदो जेठको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ।लुम्बिनी केबलकार प्रालिले यसअघि वैशाखमा केबलकार सञ्चालन गर्ने भने पनि प्राविधिक कार्य सम्पन्न नभएकाले जेठको पहिलो सातादेखि सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको बताएको छ ।

आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ ।बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार २०७७ फागुन १ गते पूर्वप्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए ।बुटवल उपमहानगरपालिका-३ बमघाटमा तल्लो र पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरमा केबलकारको माथिल्लो तथा अन्तिम स्टेशन छ ।

प्रोजेक्ट म्यानेजर गोकुल साउदले लठ्ठा तान्ने काम सम्पन्न भइसकेको र वैशाख मसान्तसम्म काम सम्पन्न हुने बताउनुभयाे ।पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुर डाँडामा टप स्टेशन तथा होटल कम्प्लेक्सका साथै कामख्याको मन्दिर, जिपलाइन, स्विमिङ पोखरीलगायत संरचना निर्माणका काम पनि भइरहेको उहाँले बतानुभयाे।साथै वसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरुत्थान गरी एउटा नयाँ धार्मिक गन्तव्य बनाउनुका साथै पार्क, पिकनिक स्पट तथा बाल उद्यानहरू निर्माण भइरहेको उहाँको भनाइ छ ।

मनोकेवल डिट्याचेबल गोन्डाला सिस्टम रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने छ । साथै गोण्डालाको संख्या २४ रहेको छ । यस्तै केबलकार टावर ९ वटा हुने उहाँले बताउनुभयाे।१० मिनेटको यात्रामै तराई, पहाड तथा हिमालको अनुभव तथा दृश्यावलोकन गर्न सकिने भएकाले पनि केबलकार सञ्चालन पछि यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने ६.२७ हेक्टर वन क्षेत्र प्रयोगका लागि २५ वर्षका लागि भोगाधिकार दिएको छ ।

तपाईको प्रतिक्रिया