गैंडाकोटस्थित नारायणी नदी किनारमा नयाँ रिसोर्ट सञ्चालनमा आएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ५ कुसुमघाटस्थित नारायणी नदी किनारमा नारायणी बिच एड्भेन्चर रिसोर्ट प्रालि सञ्चालनमा आएको हो ।
मंगलबार विशेष समारोहबीच गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले रिसोर्टको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर कोइरालाले रिसोर्ट सञ्चालनमा आएपछि यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताइन् । ‘रिसोर्टले स्थानीय उत्पादनलाई खपत गर्नुपर्छ । यहाँका तरकारी र अन्नबालीलाई प्रयोगमा ल्याउनुपर्छ’, कोइरालाले भनिन्, ‘स्थानीय जनशक्ति र उत्पादनलाई प्रयोगमा ल्याउन सके स्थानीय क्षेत्रको आर्थिक उन्नति पनि हुनेछ ।’ रिसोर्टले गैंडाकोटको पर्यटनलाई माथि उठाउन भूमिका खेल्नुपर्ने उनले बताइन् ।
जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका महासचिव छविलाल कँडेलले गैंडाकोटमा ठूलो लगानीको रिसोर्ट सञ्चालनमा आउँदा यस क्षेत्रको गरिमा बढेको बताए । गैंडाकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रत्नप्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्दै रिसोर्टले गैंडाकोट क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नमा भूमिका खेल्ने बताए ।
सञ्चालक महेन्द्रसिं थापाले गैंडाकोटमामा पर्यटन क्षेत्रको सम्भावना देखेर रिसोर्ट सञ्चालनमा ल्याएको बताए । रिसोर्टमा २१ कोठा रहेका छन् । थापाले १८ वर्षदेखि सिन्धुपाल्चोकमा सुकुटे रिसोर्ट सञ्चालन गर्दै आएका छन् ।
चितवनको सौराहा, मेघौली र देवघाट क्षेत्रमा घुम्न आउने पर्यटनले यस वरिपरि अन्य क्षेत्रमा पनि घुम्ने चाहना राख्ने भएकोले नारायणी किनारमा अवस्थित गैंडाकोट क्षेत्रको पर्यटनलाई विकास गर्न सकिने सम्भावना आफूले देखेको सञ्चालक थापाले बताए । थापा र्याफ्टिङ र ट्रेकिङको अनुभवबाट रिसोर्ट व्यवसायमा आएका हुन् ।
गैंडाकोट–५ का पूर्वअध्यक्ष नवराज कँडेलले गैँडाकोट क्षेत्रमा रिसोर्ट थपिनु खुसीको कुरा भएको बताए । उनले पछिल्ला गतिविधिले गैँडाकोटलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सघाउ पुगेको विचार व्यक्त गरे ।



उज्यालो खबर




