काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।
२०७९ वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।



उज्यालो खबर




