×

चितवन ।  भरतपुरको चितवन मेडिकल कलेजले १०० शय्याको क्यान्सर अस्पताल दसैँ अगाडि सञ्चालनमा ल्याउन एक अर्ब २७ करोडको उपकरण खरिद गरेको छ ।कलेजको मातहत रहने गरी दसैंअघि नै क्यान्सर अस्पताल सञ्चालनको तयारी गरिएको अस्पतालका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा। हरिशचन्द्र न्यौपानेले जानकारी दिएका हुन् ।

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा। न्यौपानेले जानकारी दिए । दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको डा।न्यौपानेले बताए ।

क्यान्सर उपचारकै लागि अस्पतालले ६ तले भवन निर्माण गरेको छ । इन्ष्टिच्युटका रेडियसन अंकोलोजिष्ट डा।सुवास ठाकुरले टाउको भित्रको ट्यूमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि पनि ल्याएको बताए ।उनका अनुसार ब्रेकी थेरापीमार्फत् शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइदै छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ ।

भरतपुरमै रहेको वीपी कोइराला क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीको संख्या हरेक बर्ष बढ्दै गएको छ । क्यान्सर अस्पतालको सीमित स्रोत र जनशक्तिका कारणले बायोप्सीको रिपोर्ट लिन कम्तीमा ४५ दिनमा र रेडियसन गर्न कम्तीमा १५ दिनदेखि ३ महिनासम्म कुर्नुपर्ने बाध्यता छ । कतिपय बिरामीको रिपोर्ट आउनुअघि नै मृत्युसमेत हुने गरेको छ ।

‘कम्तीमा पनि यहाँ आउने बिरामीहरु उपचार नपाएर फर्किने अवस्था नआओस्, भनेर क्यान्सर अस्पतालकै ब्याकअपका रुपमा यसलाई तयार गरेका हौं’ प्रबन्ध निर्देशक न्यौपानेले भने ।उनले क्यान्सरका ५० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि भारत जाने गरेको पाइएको बताए । अस्पतालमा भारत, अमेरिका र चीनमा काम गरिरहेकाहरु समेत १६ जना क्यान्सरका विषेशज्ञ चिकित्सक रहने छन् ।

मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले अत्याधुनिक उपकरणहरु खरिदमा मात्रै एक अर्ब २७ करोड रूपैयाँ खर्च गरेको जानकारी दिए ।रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि उपकरण खरिद गरिएको उनको भनाइ छ । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी दुई अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने देवकोटाको भनाइ छ ।

 

 

तपाईको प्रतिक्रिया