×

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताउनुभएको छ ।सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएको भन्दै यसलाई संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्ट्रिय समान प्रकृतिका प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

उहाँले कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताउनुभयो । उहाँले देशको साहित्यिक र सांस्कृतिक क्षेत्रलाई सदृढ गर्नुपर्ने आजको आवश्यक्त रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले उपत्यकाभित्र बसोवास गर्ने प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा भएकोले यिनको खोजि गरी प्रकाशन गर्नु आजको प्रमुख आवश्यक्ता भएको बताउनुभयो ।

प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको र महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालयको चाँडै उद्घाटन गर्न लागिएको भन्दै खुशी व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को पनि शुभारम्भ गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्रको संरक्षण र संवद्र्धनको क्षेत्रमा प्रतिष्ठान क्रियाशील रहेको छ । यसरी प्रतिष्ठानले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्टिय समान प्रकृतिका प्रतिष्ठानसमेत संस्थागत रुपमा साझेदारी पत्रमा हस्ताक्षर गरी सहकार्यमा साहित्यिक, सांस्कृतिक पक्षलाई अघि बढाउन लागेको छ । आगामी दिनमा पनि यसलाई बिस्तार गर्दै लैजानुपर्ने खाँचो छ । कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना हुन् । समग्र देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मुलतः कुरा भनेको यस देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास दर्शन, सामाजिक शास्त्र आदि नै हुन् । प्रधानमन्त्री देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया