×

नवलपुर।  चितवन  यस आसपासमा नवलपुरकाे गैँडाकोटमा रहेको कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युटले मात्रै पीसीएल नर्सिङ पढाउने भएकाे छ । मेडिकल हवका रुपमा चर्चित चितवनमा पीसीएल नर्सिङ पढाउने अनुमति नदिँदा यस वर्ष पनि भर्ना नहुने  भएकाे हाे । गैँडाकाेटमा रहेकाे कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युटले मात्र पीसीएल नर्सिङ पढाउने भएपछि  विद्यार्थीको चाप वृद्धि भएको छ ।

मेडिकल हबका रूपमा चर्चित चितवनमा पीसीएल नर्सिङ पढाउने अनुमति नदिँदा यस वर्ष पनि भर्ना नहुने भएको छ । चितवनमा १२ वटा कलेजले नर्सिङ पढाउँदै आएका थिए तर दुई वर्ष अगाडिदेखि जिल्लाका ११ वटा संस्थाले विद्यार्थी भर्ना लिन छाडेका छन् ।

पीसीएल नर्सिङ पढाउनका लागि अन्य निजी कलेजले सरकारी नीति नियम पूरा नगरेका कारण भर्ना गर्न छाडेका हुन् । पीसीएल नर्सिङ पढाउने अनुमति पाएको भरतपुर अस्पतालले भने माथिल्लो तहका कार्यक्रम सञ्चालन गर्ने भएपछि नपढाउनेनिर्णय गरेको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भन्नुभयो, “हामीले अब स्नातक तहका कार्यक्रम मात्र पढाउने भएका छौँ । त्यसैले पीसीएल नपढाउने भएर यस वर्ष भर्ना लिएनौँ । नर्सिङ पढ्ने भए अन्यत्र जानु पर्दछ, हामी अब पढाउँदैनौँ ।”

चिकित्सा शिक्षा ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न सय शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था गरेपछि निजी कलेज पढाउने अवसरबाट वञ्चित भएका हुन् । विज्ञान पढ्न नसक्ने र स्वास्थ्य सेवामा लाग्छु भनेर बसेकालाई रोक्ने गरी ल्याएको नीति ठीक नभएको नेपाल नर्सिङ सङ्घका वरिष्ठ उपाध्यक्षरमेश सुब्बाले बताउनुभयो । पढ्न पाउने अवसरबाट वञ्चित गर्दा पछि जनशक्तिको अभाव हुनेछ, उहाँले भन्नुभयो, “यो मात्र होइन, नर्सिङ कलेजमा आबद्ध भएका जनशक्ति बेरोजगार भएका छन् । सरकारले नीति परिमार्जन गर्न जरुरी छ । सय शøया हुँदैमा गुणस्तरीय हुने र त्योभन्दा कम नहुने भन्ने चिकित्सा ऐन संशोधन गरेर भए पनि पढ्न पाउने अधिकारबाट वञ्चित गर्न हुँदैन ।”

नर्सिङ पढाइ नहुने भएपछि अध्ययनका लागि चितवनका विद्यार्थी अन्यत्रै जानुपर्ने भएको छ । नर्सिङ विषय मैयादेवी कन्या कलेज, बालकुमारी कलेज, बोस्टन कलेज, एनपीआई, आशा, आईओएमटी, पुरानो मेडिकल कलेज, ओसिस, मौलाकालिका, चितवन एकेडेमी फर टेक्निकल कलेज, श्री मेडिकल एन्ड टेक्निकल कलेज र भरतपुर अस्पतालमा पढाइ हुने गरेको थियो ।

सरकारले लिएको नीति ठीक नभएको निजी अस्पताल सञ्चालकहरूको संस्था (अफिन) का अध्यक्ष नारायणसिंह कुँवरले बताउनुभयो । “हरेक वर्ष पाँच सय विद्यार्थी भर्ना हुने गरेका थिए । अब ती विद्यार्थी जिल्ला बाहिर जाँदा अभिभावकलाई आर्थिक भार पर्दछ । नर्सिङ पढाइ सक्नेबित्तिकै रोजगारी पाउँदा परिवारमा सहयोग हुने गरेको थियो, त्यो अब बन्द हुन्छ । नीतिमा सरकारले परिवर्तन नगरी पढाइ बन्द हुँदा समाजमा नै असर पर्दछ यसका बारेमा सोच्न आवश्यक छ,” अध्यक्ष कुँवरले भन्नुभयो । प्राविधिक शिक्षामा जोड दिने भन्ने राज्यको नीतिलाई यो कदमले व्यङ्ग्य गरेको उहाँको भनाइ छ ।

पीसीएल नर्सिङ पढाएर आर्थिक उपार्जन गर्दै आएका शिक्षकहरूको रोजगारी गुमेको छ । दुई वर्षदेखि भर्ना नलिएका कलेजमा अहिले तेस्रो वर्षका विद्यार्थी मात्र पढ्दैछन् । उनीहरूको पढाइ सकिएपछि त्यसमा आश्रित जनशक्ति बेरोजगार हुनेछन् ।

तपाईको प्रतिक्रिया