×

सुस्मा न्याैपाने 

कावासोती । आन्तरिक राजश्व कार्यालय कावासोती नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले आर्थिक वर्ष २०७८/७९ मा रु २४ अर्ब ११ करोड १२ लाख १ हजार राजश्व संकलन गरेको छ । संकलन भएको राजश्व आर्थिक २०७७/७८ को भन्दा साढे ७ अर्वले बढी हो । गत बर्ष १६ अर्ब ६१ कराेड ५९ लाख ३७ हजार राजस्व संकलन भएकाे थियाे ।

कार्यालयले २०७९ असार मसान्तसम्म रु २४ अर्ब ५२ करोड ६४ लाख २३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु २४ अर्ब ११ करोड १२ लाख १ हजार मात्रै राजश्व सङ्कलन गर्न सफल भएको कार्यालयका प्रमुख कर अधिकृत टेक बहादुर अर्यालले जानकारी दिनुभयो ।उहाँका अनुसार कार्यालयले राजश्व सङ्कलनमा ९८ दशमलब ३१ प्रतिशत प्रगति हासिल गरेको हो । कार्यालयले सङ्कलन गरेको राजश्व रकम लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार अर्थात १ दशमलब ६९ प्रतिशतले थोरै हो ।

कार्यालयले आय करतर्फ रु ५६ करोड ७९ लाख ८१ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेकामा रु ६१ करोड ७३ लाख १८ हजार सङ्कलन गर्न सफल भएको उहाँले बताउनुभयो । आयकरमा सङ्कलन भएको राजश्व लक्ष्यभन्दा १०८ दशमलव ६९ प्रतिशतले बढी हो ।त्यस्तै मूल्य अभिवृद्धि करतर्फ ४० करोड ९३ लाख १७ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा रु ३४ करोड ८१ लाख ७६ हजार राजश्व सङ्कलन भएको छ । यो लक्ष्य भन्दा १४ दशमलव ९३ प्रतिशतले कमी हो ।

कार्यालयले अन्तःशुल्कमा लक्ष्यभन्दा १ दशमलव ७० प्रतिशत कम राजश्व सङ्कलन गरेको अर्यालले बताउनुभयो ।“हामीले अन्तःशुल्कमा रु २३ अर्ब ४४ करोड ६५ लाख २२ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेका थियौँ, तर रु २३ अर्ब ४ करोड ७२ लाख लाख २७ हजार मात्रै राजश्व सङ्कलन भएको छ”,अर्यालले भन्नुभयो ।

आर्थिक बर्ष २०७७।७८को साउन १ गतेदेखि नवलपुरको कावासोतीमा आन्तरिक राजश्व कार्यालय स्थापना भएपछि जिल्लाभित्रका सबै करदाताले यही कार्यालयमा राजश्व बुझाउन थालेका हुन् ।

तपाईको प्रतिक्रिया