काठमाडौं । यो साता लामो समयपछि धितोपत्र दोस्रो बजारका सबै सूचकहरू सकारात्मक बनेका छन् ।गत साताको तुलनामा यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक १६६ दशमलव ७१ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ८६२ दशमलव शून्य ६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार २८ दशमलव ७७ विन्दुमा पुगेको हो । साताको ६ कारोबार दिनमा नेप्से परिसूचक तीन दिन बढेको छ भने तीन दिन घटेको छ ।
साताको पहिलो कारोबार दिन ९४ दशमलव ९२ अंकले बढेको नेप्से दोस्रो दिन २३ दशमलव ८५ अंक र तेस्रो दिन ११ दशमलव ८२ अंक घटेको थियो । त्यस्तै चौथो दिन ४१ दशमलव ३९ अंकले र पाँचौ दिन ७४ दशमलव ९३ अंकले बढेको नेप्से अन्तिम छैठौ कारोबार दिन भने ८ दशमलव ८७ अंकले घटेर बन्द भएको छ ।
पछिल्लो समय बजार सुधारका केहि कामहरू अघि बढ्दा लगानीकर्ताहरू उत्साहित बन्न थालेका छन् । साथै नेपाल राष्ट्र बैंकले असारभित्रै सार्वजनिक गर्न लागेको आगामी वर्षको मौद्रिक नीतिले बजारको पक्षमा आवश्यक बुँदाहरू सम्बोधन गर्ने आशामा लगानीकर्ताहरू देखिएका छन् ।
बजार सुधारका लागि यसअघि नै तय भएका विभिन्न कार्यहरू गर्न दबाब स्वरुप लगानीकर्ताहरूको आन्दोलनलाई ती बुँदाहरू कार्यान्वयन गर्ने सहमतिमा टुङ्ग्याएको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी दिनमा प्रतिवद्धता बमोजिम काम गर्नेमा समेत लगानीकर्ताहरू विश्वस्त रहेका छन् ।यो साता नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २३ दशमलव ७२ अंकमाथि उक्लिएको छ ।
गत साताको भन्दा यो साता रू। ३ अर्ब १ करोड ५४ लाखभन्दा बढीको ५१ लाख ४२ हजार ४०० कित्ता बढी धितोपत्र खरीदविक्री भएको छ । गत साता रू। ७ अर्ब ६३ करोड ३१ लाखभन्दा बढीको २ करोड ५२ लाख ४ हजार १३९ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता रू। १० अर्ब ६४ करोड ८५ लाखभन्दा बढीको ३ करोड ३ लाख ४६ हजार ५३९ कित्ता धितोपत्र खरीदविक्री भएको छ ।
बजारका सबै सूचकहरू सकारात्मक बन्दा यो साता लगानीकर्ताहरूको कुल सम्पत्तिको मूल्य अर्थात कुल बजार पूँजीकरण पनि रू। २ खर्ब ३७ अर्ब ६८ करोड ७४ लाखले बढेको छ । गत साताको अन्तिम कारोबार दिन रू। २६ खर्ब ५४ अर्ब ८२ करोड ८९ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू। २८ खर्ब ९२ अर्ब ५१ करोड ६४ लाख कायम भएको छ ।
यो साता बैंकिङ समूहले सबैभन्दा कम कमाए
यो साता सबै समूहगत उपसूचकहरू बढेका छन् । १३ ओटा समूहगत उपसूचकहरूमध्ये व्यापारिक समूहको उपसूचक सर्वाधिक २१ दशमलव ३४ प्रतिशत बढेको छ । त्यस्तै यो साता वित्त समूहको १६ दशमलव शून्य ९ प्रतिशत, लगानी समूहको १३ दशमलव ५१ प्रतिशत, अन्य समूहको १२ दशमलव ६८ प्रतिशत, विकास बैंक समूहको १२ दशमलव ६७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ११ दशमलव ८७ प्रतिशत र लघुवित्त समूहको ११ दशमलव ८२ प्रतिशतले उपसूचक बढेको छ ।
त्यसैगरी जलविद्युत् समूहको ११ दशमलव ६६ प्रतिशत, जीवन बीमा समूहको १० दशमलव ७८ प्रतिशत, होटल तथा पर्यटन समूहको १० दशमलव १६ प्रतिशत, निर्जीवन बीमा समूहको ९ दशमलव ४१ प्रतिशत, म्युचुअल फण्ड समूहको ६ दशमलव ८५ प्रतिशत र बैंकिङ समूहको ४ दशमलव १५ प्रतिशतले उपसूचक बढेको छ ।यो साता बैंकिङ समूहको उपसूचक सबैभन्दा कम प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक अभियानबाट



उज्यालो खबर




