काठमाडौँ । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग घाइते रअपांगता भएका व्यक्तिका सन्दर्भमा पाँचबुँदे ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूको अपांगता प्रतिशत निर्धारण तथा पुनरवलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न आग्रह गरेका हुन् ।प्रचण्डको सचिवालयका अनुसार सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिका लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगता भएका व्यक्तिहरूलाई सूचीकृत गर्ने विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण, ‘जनयुद्ध’, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायत आन्दोलनमा सहिद भएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने प्रचण्डको भनाइ छ ।
सशस्त्र द्वन्द्वका क्रममा जेल परी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मानपत्रसहित राहत उपलब्ध गराउने विषयमा पनि प्रचण्डले प्रधानमन्त्रीको ध्यानकर्षण गराएको सचिवालयले जानकारी दिएको छ ।



उज्यालो खबर




