भरतपुर – नेकपा संयुक्तका चितवन निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार जितबहादुर सुनार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
शुक्रबार भरतपुरमा आयोजित एक कार्यक्रममा नेकपा संयुक्त परित्याग गर्दै सुनार नेकपा प्रवेश गरेका हुन्। उनलाई नेपाली कम्युनिष्ट पार्टीका नेता तथा चितवन–३ का चुनावी कमाण्डर ईश्वरी भट्टराई ले टीका तथा खादा लगाएर स्वागत गरेका थिए।
पार्टी प्रवेशपछि सुनारले कम्युनिष्ट आन्दोलनको एकीकरण तथा विकासप्रेमी नेतृ रेनु दाहाल को विजयी यात्रामा सहयोग पुर्याउने उद्देश्यले आफ्नो उम्मेदवारी फिर्ता लिई नेकपा प्रवेश गरेको बताएका छन्। उनले आजैबाट “तारा” चुनाव चिन्हमा मत माग्दै रेनु दिदीको विजयी अभियानमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे। साथै, नेकपा संयुक्तका अन्य साथीहरूलाई पनि पार्टी प्रवेश गराउँदै जाने बताए।
सो अवसरमा चितवन–३ की उम्मेदवार रेनु दाहाल ले सुनारले उम्मेदवारी फिर्ता लिई सहयोग गरेकोमा धन्यवाद दिँदै पार्टीमा स्वागत गरेकी थिइन्।
कार्यक्रममा नेकपाका नेता तथा क्षेत्र नम्बर ३ का इन्चार्ज ईश्वरी भट्टराई, चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।




















उज्यालो खबर










