गैँडाकोट – गैँडाकोट नगरपालिका–४ मा अवस्थित गैँडाकोट पम्पिङ तथा खानेपानी सरसफाइ उपभोक्ता संस्था स्थानीय खानेपानी व्यवस्थापनको प्रमुख आधारका रूपमा विकसित हुँदै आएको छ। विस २०५२ सालमा सेवा थालनी गरेको संस्थाले पछिल्ला वर्षहरूमा संरचना विस्तार गर्दै अहिले दैनिक ७ हजारभन्दा बढी घरधुरीमा सुरक्षित पानी वितरण गरिरहेको छ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेका अनुसार हाल दैनिक करिब एक करोड लिटर पानी नगरवासीले उपभोग गरिरहेका छन्। गैँडाकोट नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका बासिन्दालाई लक्षित गर्दै १० वटा गहिरा बोरिङबाट निकालिएको पानी ३ ओभरहेड ट्यांकीमा भण्डारण गरिन्छ र त्यसपछि वितरण लाइनमार्फत उपभोक्तासमक्ष पुर्याइन्छ। भूजल स्रोतको नियमित परीक्षण र पानीको गुणस्तरमा निरन्तर निगरानी राखिने भएकाले उपभोक्ताले सुरक्षित तथा सफा पानी पाउँदै आएको संस्थाको दाबी छ।
स्थानीय समुदायप्रति उत्तरदायी भूमिकामा रहेका संस्थाले गरिब तथा आर्थिक रूपमा कमजोर परिवारलाई विशेष सुविधा प्रदान गर्दै आएको छ। आर्थिक अभावका कारण वर्षौँदेखि पाइपलाइनमा पहुँच नपाएका परिवारहरूलाई निःशुल्क धारा जडान गरिनुका साथै मासिक पाँच हजार लिटरसम्म पानी पनि निःशुल्क उपलब्ध गराइन्छ। यसले विपन्न समुदायलाई आधारभूत सेवामा सहज पहुँच दिलाउन सहयोग पुगेको अध्यक्ष न्यौपानेकाे भनाइ छ।

अध्यक्ष न्यौपाने आफ्नो कार्यकक्षमा—सेवा सुधारको निरन्तर योजनासहित
त्यस्तै, सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा समेत संस्थाले महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ। सामुदायिक विद्यालयहरूलाई तिर्नुपर्ने महिनावारी बिलमा २५ प्रतिशत छुट प्रदान गरिँदा विद्यालयहरू सञ्चालनमा पर्ने आर्थिक भार कम भएको विद्यालय प्रशासनहरूको भनाइ छ। यस्तै, कुनै उपभोक्ताको परिवारका सदस्यको निधन भएमा सो महिनाको सम्पूर्ण बिल रकम नै छुट गरिने व्यवस्था संस्थाले अवलम्बन गरेको छ। शोकसन्तप्त परिवारप्रति संस्थाको यो कदमलाई स्थानीयहरूले मानवीय र संवेदनशील व्यवहारका रूपमा लिएका छन्।
संस्थाका सचिव केशव पौडेलका अनुसार गैँडाकोट क्षेत्रमा अन्य खानेपानी परियोजनाहरूको तुलनामा धारा जडान शुल्क अत्यन्तै सुलभ दरमा उपलब्ध छ। हाल ११ हजार २७५ रुपैयाँ शुल्कमा नयाँ धारा जडान गरिँदै आएको छ। जडान प्रक्रियालाई सरल, छिटो र पारदर्शी बनाउन आवश्यक प्रशासनिक सुधारहरू पनि लागू गरिएको पौडेलले बताए।
विस्तारित संरचना र समग्र क्षमताको मूल्यांकन गर्दा गैँडाकोट पम्पिङले अहिलेकाे अवस्थामा १३ हजार घरधुरीसम्म पानी वितरण गर्न सक्ने क्षमता भएको संस्थाको निष्कर्ष छ। नगरको द्रुत शहरीकरण र बढ्दो मागलाई ध्यानमा राख्दै संस्थाले आगामी वर्षहरूमा थप बोरिङ निर्माण, नयाँ ओभरहेड ट्यांकी निर्माण, पुराना पाइपलाइन प्रतिस्थापन तथा डिजिटल प्रणालीमार्फत बिलिङ र सेवाको सहजताका लागि प्रविधिमैत्री ढाँचा निर्माण गर्ने योजना अघि सारेको छ।
समुदायसँगको समन्वय, स्थानीय तहको साथ र उपभोक्ताको निरन्तर विश्वासले संस्थालाई अझ सक्षम र भरोसायोग्य सेवा प्रदायकका रूपमा अघि बढाएको संस्थाले जनाएको छ।
स्थानीयवासी र उपभोक्ताहरूका अनुसार संस्थामा हालको नेतृत्व आएपछि सेवाप्रवाहदेखि आन्तरिक व्यवस्थापनसम्म धेरै सकारात्मक परिवर्तन आएका छन्। पानी वितरणको नियमितता, तथा आकस्मिक समस्या समाधानमा देखिएको चुस्तता र पारदर्शिताले संस्थाको विश्वसनीयता बढेको उपभोक्ताको प्रतिक्रिया छ।
अध्यक्ष कृष्णप्रसाद न्यौपानेको निरन्तर खटाइ, सक्रिय अनुगमन र सेवा सुधारप्रतिको प्रतिबद्धताले संस्थामा नयाँ ऊर्जा संचार भएको धेरैको भनाइ छ। उपभोक्ताबाट उठ्ने समस्या तत्काल सम्बोधन गर्ने शैली, व्यवस्थापनमा पारदर्शिता र समुदायलाई केन्द्रमा राखेर अघि बढ्ने दृष्टिकोणका कारण वर्तमान नेतृत्वप्रति व्यापक रुपमा प्रशंसा व्यक्त गरिएको छ।
समुदाय–मैत्री सेवा, कुशल व्यवस्थापन र अध्यक्षसहित सम्पूर्ण टोलीको सक्रियताका कारण गैँडाकोट पम्पिङ अहिले नगरपालिका क्षेत्रको सबैभन्दा व्यवस्थित तथा भरपर्दो खानेपानी सेवा प्रदायकका रूपमा स्थापित हुँदै गएको देखिन्छ।

अध्यक्ष कृष्णप्रसाद न्यौपाने र सचिव केशव पौडेल स्थानीय संचारकर्मीहरूसँग





















उज्यालो खबर










