×

चितवन- भरतपुरको बिरेन्द्र क्याम्पस गेट नजिकै स्मार्ट शौचालयमा थारु समुदायको सांस्कृतिक आकृति प्रयोग गरिएको भेटिएपछि स्थानीय थारु समुदायले कडा आपत्ति जनाएका छन्। बिरेन्द्र बहुमुखी क्याम्पस नजिक निर्माणाधीन रहेको सो शौचालयको भित्तामा थारु समुदायले तिहारसम्म सम्बन्धित गर्दछिने परम्परागत आकृतिहरू सजावटका रूपमा प्रयोग गरिएपछि चौतर्फी विरोध सुरु भएको हो।

शौचालय सडक छेउमै रहेको हुँदा सर्वसाधारणको ध्यान त्यसतर्फ गएपछि सामाजिक सञ्जालमा विरोध चर्किएको छ। थारु समुदायका बुद्धिजीवी र कलाकारहरूले पवित्र सांस्कृतिक पहिचानलाई शौचालयसँग जोडिनुले अपमान भएको भन्दै असन्तुष्टि जनाएका छन्।

पूर्वी चितवनका थारु बुद्धिजीवी कारी चौधरीले फेसबुकमार्फत गम्भीर प्रतिक्रिया व्यक्त गर्दै भने, “हाम्रो कला र संस्कृतिलाई शौचालय सजाउन प्रयोग गर्नु घोर आपत्तिजनक छ। जसले यो काम गर्‍यो, उसले समुदायसँग माफी माग्नुपर्छ।” त्यस्तै, गायक संजय चौधरी लगायतका अन्य व्यक्तिहरूले पनि थारु कल्याणकारी चितवनलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।

विषय सार्वजनिक रूपमा उठेपछि थारु कल्याणकारी सभा (थाकस) चितवनका सभापति ललित चौधरीले महानगर प्रमुख, वडा अध्यक्ष तथा सम्बन्धित विभागसँग तत्काल भेटघाट गरी आपत्ति जनाएको बताए। उनका अनुसार, शौचालयमा प्रयोग गरिएका आकृतिहरू थारु समुदायका महत्वपूर्ण पर्व र परम्परासँग जोडिएका भएकाले अविलम्ब हटाउन वा सच्याउन माग गरिएको छ। “यो हाम्रो सांस्कृतिक सम्मानसँग जोडिएको कुरा हो। महानगरले सकारात्मक प्रतिक्रिया दिएको छ र छिट्टै सच्याउने तयारी भइरहेको छ,” सभापति चौधरीले भने।

विरोध बढेपछि भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको टोलीले  निरीक्षण गरेको छ। निरीक्षणपछि महानगरले समुदायको सम्मान विपरीत कुनै काम गर्ने उद्देश्य नभएको बताउँदै आकृति तत्काल सच्याउने आश्वासन दिएको छ।

भरतपुर महानगरले करिब डेढ दर्जन स्थानमा ‘स्मार्ट शौचालय’ निर्माण गर्ने योजनाअन्तर्गत क्याम्पस नजिकको संरचना बनाएको हो। तर सांस्कृतिक संवेदनशीलता नबुझी गरिएको सजावटका कारण अहिले यो विषय स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म व्यापक चर्चामा आएको छ।

तपाईको प्रतिक्रिया