नवलपुर – नेपाल–भारतबीचको शैक्षिक सम्बन्धलाई थप सशक्त बनाउने उद्देश्यसहित गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट र भारतको मध्यप्रदेश, ग्वालियरस्थित इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (ITM) बीच पाँच वर्षे समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
भारतको ग्वालियरमा आयोजित International conference on Synergizing Indian Knowledge Systems and Artificial Intelligence for Sustainable Global Business Innovation in the Era of Digital Disruption ( “डिजिटल रुपान्तरणको युगमा दिगो विश्वव्यापी व्यवसायिक नवप्रवर्तनका लागि भारतीय ज्ञान प्रणाली र कृत्रिम बुद्धिमत्ताको समन्वय विषयक अन्तर्राष्ट्रिय सम्मेलन” ) का अवसरमा दुबै संस्थाबीच औपचारिक रूपमा MoU मा हस्ताक्षर गरिएको हो।
सो ऐतिहासिक सम्मेलनमा अक्सफोर्ड कलेजका प्राचार्य प्रा.डा. इ. हरि प्रसाद भण्डारी प्रमुख अतिथिका रूपमा तथा वरिष्ठ शैक्षिक व्यक्तित्व प्रा.डा. बसन्त अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। सम्मेलनकै विशेष सत्रमा ITM ग्वालियरकी निर्देशक डा. मीनाक्षी मजुमदार र प्रा.डा. भण्डारीबीच सो MoU मा हस्ताक्षर गरिएको हो, जसले दुई देशका प्रतिष्ठित शिक्षण संस्थाबीचको सहकार्यलाई औपचारिक तथा संस्थागत बनाएको छ।

सम्झौतामार्फत दुवै संस्थाले उच्च शिक्षाको प्रवर्द्धन, प्रविधिमा आधारित सिकाइ, अन्तर्राष्ट्रिय अनुभवको आदान–प्रदान, तथा अनुसन्धान र विकासमा संयुक्त पहल गर्ने साझा लक्ष्य लिएका छन्। यो सम्झौताले अनलाइन कक्षा, तालिम, वेबिनार, सेमिनार र कार्यशालाहरू सञ्चालन गर्ने सम्भावनाहरू पनि विस्तार गरेकोअक्सफोर्ड कलेजका प्राचार्य प्रा.डा. इ. हरि प्रसाद भण्डारीले बताउनुभयो ।
दुवै देशका विद्यार्थी र शिक्षकहरूबीच पारस्परिक भ्रमण, अध्ययन, अध्यापन तथा सांस्कृतिक आदान–प्रदानलाई MoU ले थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। अनुसन्धानका क्षेत्रमा सहलेखकका रूपमा संयुक्त प्रकाशन, स्रोत र विशेषज्ञताको साटासाट, तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा सहकार्य गर्ने कुराहरू पनि समेटिएका छन्।
प्रा.डा. भण्डारीले यस सम्झौतालाई गण्डकी प्रदेशकै शैक्षिक इतिहासमा अन्तर्राष्ट्रिय सहकार्यको उल्लेखनीय उदाहरणको रूपमा प्रस्तुत गर्दै अक्सफोर्ड कलेजले अब अनुसन्धान, गुणस्तरीय शिक्षण र प्रविधिमा आधारित शिक्षामा नयाँ कीर्तिमान राख्ने विश्वास व्यक्त गर्नुभयो। ITM ग्वालियरकी निर्देशक डा. मजुमदारले यस्ता समझदारीहरूले नेपाली र भारतीय विद्यार्थीबीच ज्ञान र संस्कृतिको सेतु निर्माण गर्ने स्पष्ट विश्वास व्यक्त गर्नुभयो।




















उज्यालो खबर










